नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग मेरो पहिलो निर्णयको परिणाम हो : झलनाथ खनाल
काठमाडौं : चीनको राजधानी बेइजिङमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा गरेको पहिलो नीतिगत निर्णय भएको बताएका छन्।
मंगलबार जारी गरेको प्रेस नोटमा खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको समाचारले आफूलाई अत्यन्त खुसी र गौरवान्वित बनाएको उल्लेख गरेका छन्।
उनका अनुसार २०६८ सालमा प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा सुरुङमार्ग निर्माणसँग सम्बन्धित थियो। त्यसपछि आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आयोजनाका लागि बजेटसमेत विनियोजन गरिएको उनले स्मरण गरेका छन्।
खनालले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनले वर्षौंदेखि भोग्दै आएको ट्राफिक जाम र अव्यवस्थित यातायात समस्याको दीर्घकालीन समाधानका रूपमा सुरुङमार्गको अवधारणा अघि बढाइएको बताएका छन्।
‘दीर्घकालीन सोच र राष्ट्रिय आवश्यकताले आज मूर्त रूप लिएको छ। मैले देखेको सपना साकार भएको अनुभूति भएको छ,’ उनले प्रेस नोटमा उल्लेख गरेका छन्।
उनले आयोजना सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने विभिन्न समयका सरकार, प्राविधिक, निर्माणकर्मी, कर्मचारी, जापान सरकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गरेका छन्।
खनालले नागढुङ्गा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ अध्याय सुरु गर्दै सुरक्षित, सहज र आधुनिक यातायात प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
.gif)

.png)

