जडीबुटीबाट रोजगारी र राजश्व वृद्धि सम्भव : मन्त्री चौधरी


२०८२ चैत २९ आइतबार १४:०४ बजे

काठमाडौँ : वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्।

वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

उनका अनुसार पर्याप्त सम्भावना हुँदाहुँदै पनि जडीबुटीबाट औषधि उत्पादन अझै प्रारम्भिक चरणमै सीमित रहेको छ। विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न उनले निर्देशन दिएकी छन्।

उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने उल्लेख गरिन्। यसले राजश्व वृद्धि, स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा सहयोग पुग्ने उनको भनाइ छ।

अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै उनले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको बताइन्। वनस्पति तथा जडीबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन्।

ग्रामीण क्षेत्रको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडीबुटी क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री चौधरीले यस क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानुनी सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवर्द्धनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याइन्।

यसैबीच, विभागले नेपालमा रहेका वनस्पतिक सम्पदाको वैज्ञानिक अभिलेखीकरण गर्दै ‘वृहत् नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको जनाएको छ। हालसम्म ६ सय ५८ प्रजातिका वनस्पतिहरूको अभिलेखीकरण भइसकेको छ।

कार्यक्रममा वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७