ओली-प्रचण्डले बाइपास गरेपछि माधव नेपाल रुष्ट
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटअघि ‘सामान्य राजनीतिक छलफल मात्र हुने’ जानकारी दिएका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारको नेतृत्व बाँडफाँटसहित लिखित सहमति गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।
प्रचण्ड र ओलीबीच भएको प्रदेश सरकारसम्बन्धी सहमतिप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको छ। ओलीसँगको भेटमा तत्काल कुनै निर्णय नहुने अपेक्षा गरेको नेपाल पक्षलाई जानकारी नै नदिई प्रदेश सरकारको समीकरण परिवर्तन गर्ने सहमति भएको भन्दै नेताहरू असन्तुष्ट बनेका हुन्।
नेपाल निकट नेताहरूका अनुसार ओलीसँग भेट गर्नुअघि प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो। त्यस क्रममा नेपालले नेपाली कांग्रेससँगको संवादलाई पनि निरन्तरता दिनुपर्ने र एमालेसँग मात्रै सहकार्य गर्दा राजनीतिक सन्तुलनमा असर पर्न सक्ने धारणा राखेका थिए।
तर, त्यसपछि प्रचण्डले ओलीसँग प्रदेश सरकारको नेतृत्व बाँडफाँटसहित सहमति गरेपछि नेपाल पक्षले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएको छ। महत्वपूर्ण राजनीतिक निर्णयअघि पार्टीभित्र पर्याप्त छलफल र सहमति आवश्यक रहेको नेपाल पक्षको भनाइ छ।
‘ओलीसँग भेट सामान्य राजनीतिक संवादका लागि भएको बुझाइ थियो। तर, प्रदेश सरकारको भागबन्डासहित सम्झौता नै गरेर फर्किनुभयो,’ नेपाल निकट एक नेताले भने, ‘यस्ता महत्वपूर्ण निर्णय सामूहिक छलफलबाट हुनुपर्ने थियो।’
ओली–प्रचण्ड सहमतिपछि अब नेकपाभित्र निर्णय प्रक्रिया, नेतृत्वबीचको समन्वय र पार्टीको आगामी राजनीतिक दिशालाई लिएर बहस सुरु भएको छ। माधव नेपाल पक्षले पार्टीका रणनीतिक निर्णयहरू संस्थागत प्रक्रियाबाट हुनुपर्नेमा जोड दिँदै आएको छ। पछिल्लो सहमतिले नेकपाभित्रको शक्ति सन्तुलन र नेतृत्वबीचको सम्बन्धमा नयाँ चुनौती थपिएको नेताहरूको भनाइ छ।
.gif)

.png)

