प्रहरी विद्यालयको ११ करोड हिनामिना : इन्स्पेक्टर गुरुङ र लामामाथि अख्तियारको अनुसन्धान
काठमाडौं : सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धानसमेत सुरु भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो। आयोगले आइतबार विशेष अदालतमा पेस गरेपछि अदालतले दुवै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
यसअघि उनीहरूमाथि प्रहरीले ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरी बलको पत्रका आधारमा गुरुङ र लामालाई गत २० असारमा पक्राउ गरिएको थियो।
इन्स्पेक्टर गुरुङले करिब ६ वर्ष कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयमा लेखा अधिकृतका रूपमा काम गरेकी थिइन्। विद्यालयको आम्दानीबाट प्राप्त रकम कल्याण कोषमा जम्मा गर्नुपर्ने भए पनि उनले गैरकानुनी रूपमा रकम निकालेर लीलाबहादुर लामालाई उपलब्ध गराउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
होटेल तथा ट्राभल एजेन्सी व्यवसाय सञ्चालन गर्दै आएका लामाले उक्त रकम लगानीका क्रममा डुबाएपछि दुवै जना अनुसन्धानको दायरामा आएका हुन्। सशस्त्र प्रहरीले गरेको आन्तरिक छानबिनमा विद्यालयको रकम हिनामिनामा गुरुङको मुख्य भूमिका रहेको निष्कर्ष निकालिएको छ। छानबिनका क्रममा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगविजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको भूमिकामाथि समेत प्रश्न उठाइएको छ।
विद्यालयको करोडौँ आम्दानीको निगरानी र खोजी नगरेको भन्दै कल्याण शाखाका अधिकारीहरूमाथि पनि अनुसन्धान भइरहेको छ। सशस्त्र प्रहरीमा लेखा अधिकृतहरू सामान्यतया प्रत्येक वर्ष सरुवा हुने व्यवस्था भए पनि गुरुङ भने करिब ६ वर्षसम्म एउटै कार्यालयमा कार्यरत रहेकी थिइन्। नयाँ लेखा अधिकृतले जिम्मेवारी सम्हालेर हिसाब परीक्षण गर्ने क्रममा मात्रै आर्थिक अनियमितता बाहिर आएको हो।
अहिले प्रहरीले ठगीसम्बन्धी कसुर र अख्तियारले भ्रष्टाचारसम्बन्धी कोणबाट अनुसन्धान अघि बढाइरहेका छन्। अनुसन्धानबाट थप संलग्न व्यक्ति र आर्थिक अनियमितताको वास्तविक विवरण खुल्ने अपेक्षा गरिएको छ।
.gif)

.png)

