विचार

सी विचारधाराको आलोकमा नेपाली वामपन्थ

संकटको दोसाँधमा नेपाली वामपन्थ: भू-राजनीति, विचार र सङ्गठनात्मक रूपान्तरणका विकल्प


२०८३ श्रावण ५ मंगलबार १४:१७ बजे

१) ऐतिहासिक विरासतको आलोकमा वर्तमान

जेन–जीका नाममा भएको तथाकथित विद्रोहपश्चात् पनि आजसम्म नेपाली राजनीतिक इतिहासका पाना पल्टाउँदा, वामपन्थी आन्दोलन केवल एउटा राजनीतिक धार मात्र नभई नेपाली समाजको आमूल परिवर्तन, सामाजिक चेतना र राष्ट्रियताको पहरेदारका रूपमा स्थापित एक शक्तिशाली आन्दोलन हो भन्नु अतिशयोक्ति हुँदैन। वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टीले २०१५ सालको आमनिर्वाचनमा सहभागी भई चार सिट जितेको इतिहासदेखि २०७४ सालको निर्वाचनमा करिब दुईतिहाइ जनमत प्राप्त गर्ने अवस्थासम्मको यात्रा तय गरेको छ। कुनै पनि राजनीतिक दलका लागि यो यात्रा आफैँमा गौरवशाली र असाधारण उपलब्धि हो।

झापा विद्रोह, ऐतिहासिक जनआन्दोलनहरू तथा दसवर्षे जनयुद्धको जगमा उभिएर नेपाली वामपन्थी आन्दोलनले सामन्तवादको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा उत्पीडित वर्ग, जाति र क्षेत्रका आवाजलाई राज्यको मूलधारमा स्थापित गराउने ऐतिहासिक भूमिका निर्वाह गरेको थियो।

तर, वर्तमानमा देखिएको वामपन्थी सङ्कटलाई इतिहासको त्यो विरासतले सधैँ ढाकछोप गर्न सक्दैन। विशेषतः २०७४ सालमा भएको ऐतिहासिक वाम एकताको नाटकीय विघटन, त्यसपछिका निरन्तर विभाजन तथा सरकार गठनका लागि दोहोरिरहने सत्ताकेन्द्रित गठबन्धनको खेलले नेपाली वामपन्थलाई गहिरो वैचारिक र सङ्गठनात्मक सङ्कटमा पुर्‍याएको छ।

वि.सं. २०८१ को निर्वाचनमा वामपन्थी समर्थक मतको हिस्सा अझै उल्लेख्य रहे पनि ती मत विभाजित हुँदा संसदमा वामपन्थी शक्तिको प्रभाव कमजोर बनेको छ। यस अवस्थाले वामपन्थी समर्थक कार्यकर्ता र मतदातामा निराशा बढाएको छ भने दलभित्रको निरन्तर किचलोले वाम आन्दोलनको अस्तित्व नै सङ्कटमा पर्न थालेको अनुभूति गराएको छ।

नेपाली राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रभाव समाजकै तहबाट उल्लेखनीय रूपमा खस्किएको देखिन्छ। अर्कोतर्फ, केपी शर्मा ओलीको नेतृत्वमा रहेको एमालेले पनि निर्वाचनमा अपेक्षाविपरीत नतिजा भोग्नुपर्दा त्यसले गम्भीर राजनीतिक तरङ्ग सिर्जना गरेको छ। वामपन्थभित्र सत्ता राजनीतिलाई जोडघटाउ र लाभ–हानिको कारोबारमा सीमित बनाउने नेतृत्व कमजोर बन्दै गएपछि राजनीतिलाई नै जीवनयापनको आधार बनाएका धेरै नेता तथा कार्यकर्ता दिशाविहीन बनेका छन्।

तर, वर्तमानमा देखिएको वामपन्थी सङ्कटलाई इतिहासको त्यो विरासतले सधैँ ढाकछोप गर्न सक्दैन। विशेषतः २०७४ सालमा भएको ऐतिहासिक वाम एकताको नाटकीय विघटन, त्यसपछिका निरन्तर विभाजन तथा सरकार गठनका लागि दोहोरिरहने सत्ताकेन्द्रित गठबन्धनको खेलले नेपाली वामपन्थलाई गहिरो वैचारिक र सङ्गठनात्मक सङ्कटमा पुर्‍याएको छ।

यद्यपि, वामपन्थी बहुमतयुक्त संविधानसभाले 'समाजवादउन्मुख' संविधान निर्माण गर्‍यो, तर व्यवहारमा नेपाली समाजका अधिकांश क्षेत्रमा दलाल पुँजीवाद मौलाएको अवस्थाका साक्षी वामपन्थी नेतृत्वकै सरकारहरू बने। आज एमाले, माओवादी केन्द्र तथा अन्य वाम दलहरू पनि यही वैचारिक र सङ्गठनात्मक दुष्चक्रमा अल्झिएका देखिन्छन्।

यस्तो सङ्कटको घडीमा नेपाली वामपन्थको राजनीतिक दिशामा सुधार आवश्यक छ। साथै, वामपन्थी सङ्गठनको पुनर्निर्माण कस्तो ढाँचामा गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। यस सन्दर्भमा छिमेकी चीनले अपनाएको 'चिनियाँ विशेषतासहितको समाजवाद' तथा राष्ट्रपति सी चिनफिङको वैचारिक नेतृत्वअन्तर्गत प्राप्त आर्थिक, सामाजिक र सङ्गठनात्मक उपलब्धिको गम्भीर अध्ययनले केही सम्भावित निकास प्रस्तुत गर्न सक्छ।

आर्थिक महाशक्तिका रूपमा चीनको उदय, गरिबी निवारणमा हासिल गरेको अभूतपूर्व सफलता तथा पार्टीभित्र स्थापित कडा अनुशासन नेपाली वामपन्थका लागि अध्ययनयोग्य पक्ष हुन सक्छन्। तर, चिनियाँ मोडेलप्रतिको वैचारिक आकर्षण र नेपालको विशिष्ट भू–राजनीतिक, संवैधानिक तथा सामाजिक यथार्थबीच कसरी सन्तुलन कायम गर्ने भन्ने चुनौती भने उत्तिकै जटिल छ।

सी चिनफिङ विचारका सङ्गठनात्मक अवधारणालाई नेपाली माटोमा कुन हदसम्म रूपान्तरणसहित लागू गर्न सकिन्छ? यही प्रश्नको वस्तुगत उत्तर खोज्नु आज नेपाली वाम बौद्धिक वृत्त र राजनीतिक नेतृत्व दुवैका लागि अपरिहार्य आवश्यकता बनेको छ।

२) भू–राजनीतिक संवेदनशीलता र असंलग्नता नीति :

नेपालको भौगोलिक अवस्थिति आफैँमा चुनौती र अवसर दुवै हो। इतिहासकारहरूले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ का रूपमा व्याख्या गरेझैँ आजको विश्व राजनीतिमा नेपाल वैश्विक तथा क्षेत्रीय शक्तिहरूबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाको संवेदनशील केन्द्रमा उभिएको छ। उत्तरमा चीन र दक्षिणमा भारतजस्ता दुई प्रभावशाली छिमेकीबीच अवस्थित नेपालका लागि परराष्ट्र नीति सधैँ ‘तरबारको धारमा सन्तुलन मिलाएर हिँड्नुपर्ने’ अवस्थाजस्तै चुनौतीपूर्ण रहँदै आएको छ। पछिल्ला वर्षहरूमा विश्व शक्ति–सन्तुलनमा आएको परिवर्तन, इन्डो–प्यासिफिक रणनीति, बेल्ट एन्ड रोड इनिसिएटिभ लगायतका बहुआयामिक प्रतिस्पर्धाले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई अझ गहिरो बनाएको छ।

यस्तो परिस्थितिमा यदि नेपाली वामपन्थी दलहरूले ‘सी चिनफिङ विचार’ अन्तर्गत विकसित केही सङ्गठनात्मक अवधारणा वा व्यवस्थापन पद्धतिलाई अध्ययन गर्दै आफ्ना संगठनात्मक सुधारका लागि सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने प्रयास गरे भने दक्षिण तथा पश्चिमी शक्तिहरूले त्यसलाई रणनीतिक दृष्टिले चासोका साथ हेर्ने सम्भावना रहन्छ। उनीहरूले यसलाई नेपालमा चिनियाँ राजनीतिक प्रभावको विस्तार वा बेइजिङको ‘सफ्ट पावर’ रणनीतिको एक आयामका रूपमा व्याख्या गर्न सक्छन्। त्यसका परिणामस्वरूप नेपालभित्र वैचारिक बहस, राजनीतिक ध्रुवीकरण तथा बाह्य कूटनीतिक दबाब बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा तथा चीनसँगका विभिन्न पूर्वाधार, कनेक्टिभिटी र विकास परियोजनाहरू अघि बढाउँदा देखिएका आन्तरिक राजनीतिक विवाद र बाह्य कूटनीतिक प्रतिक्रियाहरू यस भू–राजनीतिक संवेदनशीलताका प्रत्यक्ष उदाहरण हुन्। यसले नेपालको हरेक रणनीतिक निर्णय केवल आन्तरिक राजनीतिक विषय मात्र नभई अन्तर्राष्ट्रिय शक्ति–सन्तुलनसँग पनि गाँसिएको विषय भएको स्पष्ट पार्छ।

यसर्थ, नेपालको परराष्ट्र नीतिको आधारस्तम्भ मानिने असंलग्नता र पञ्चशीलका सिद्धान्त बाट विचलित नभई राष्ट्रिय हित, वैचारिक स्वायत्तता र नीतिगत स्वतन्त्रतालाई सुरक्षित राख्नु नेपाली वामपन्थका लागि रणनीतिक अपरिहार्यता हो। चीनको आर्थिक विकास, गरिबी निवारण, सुशासन, दीर्घकालीन योजना तथा सङ्गठनात्मक व्यवस्थापनबाट सिक्नु एउटा विषय हो भने त्यसलाई यथावत् नेपाली राजनीतिक प्रणालीमा लागू गर्नु बिल्कुलै फरक विषय हो। यी दुईबीचको स्पष्ट भिन्नतालाई नेपाली वामपन्थी नेतृत्वले गहिरोसँग बुझ्नुपर्ने आवश्यकता छ।

नेपालले चीनसँग आर्थिक सहकार्य, कनेक्टिभिटी, प्रविधि हस्तान्तरण, पूर्वाधार विकास तथा लगानी विस्तारमा घनिष्ठ सम्बन्ध विकास गर्न सक्छ। तर आफ्नो राजनीतिक, वैचारिक र नीतिगत निर्णय राष्ट्रिय आवश्यकता, संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्यका आधारमा स्वतन्त्र रूपमा गर्ने क्षमतालाई अक्षुण्ण राख्नु नै असंलग्न परराष्ट्र नीतिको वास्तविक मर्म हो। त्यसैले नेपाली वामपन्थले कुनै पनि विदेशी राजनीतिक मोडेललाई अनुकरण गर्नेभन्दा पनि त्यसका सकारात्मक अनुभवलाई नेपालको ऐतिहासिक, सामाजिक, संवैधानिक र भू–राजनीतिक यथार्थसँग अनुकूल हुने गरी रूपान्तरण र आत्मसात् गर्ने दृष्टिकोण अवलम्बन गर्नु अधिक उपयुक्त हुनेछ। यही सन्तुलित दृष्टिकोणले नेपालको सार्वभौमिकता, कूटनीतिक विश्वसनीयता र राष्ट्रिय स्वायत्तताको प्रभावकारी संरक्षण गर्दै नेपाली वामपन्थलाई वैचारिक रूपमा पनि थप परिपक्व र विश्वसनीय बनाउन सक्छ

३) बहुदलीय लोकतान्त्रिक संरचना र चिनियाँ विचारको तादात्म्यता

सी चिनफिङ विचारधाराको मूल मर्म चिनियाँ कम्युनिस्ट पार्टीको 'एकदलीय र केन्द्रीकृत' नेतृत्वअन्तर्गतको लोकतान्त्रिक प्रणालीमा आधारित छ । सी विचारले "पार्टीले नै पूर्व, पश्चिम, उत्तर, दक्षिण र केन्द्र–सबै कुराको नेतृत्व गर्छ" भन्ने मान्यता राख्दछ । चीनमा पार्टी र राज्यसत्ताबीचको सीमारेखा निकै पातलो हुनाले पार्टीको निर्णय नै राज्यको कानुन बन्ने प्रणालीगत संरचना रहेको छ ।

इसके विपरीत, नेपालको वर्तमान राजनीतिक र संवैधानिक यथार्थ भने बिल्कुलै फरक छ । नेपालको २०७२ को संविधानले बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका र मौलिक हक एवम् मानव अधिकारको ग्यारेन्टी गरेको छ । नेपाली वामपन्थी आन्दोलन आफैँ पनि लामो समयदेखि संसदीय र लोकतान्त्रिक अभ्यासमा अभ्यस्त भइसकेको छ । तत्कालीन नेकपा (एमाले) ले अघि सारेको 'जनताको बहुदलीय जनवाद' (जबज) र तत्कालीन नेकपा (माओवादी) ले शान्ति प्रक्रियामा आएपछि स्वीकारेको '२१ औँ शताब्दीमा जनवादको विकास' जस्ता वैचारिक मान्यताहरूले वामपन्थी पार्टीहरूलाई बहुदलीय प्रतिस्पर्धाको फ्रेमवर्कभित्र चतुर खेलाडीका रूपमा विकास गरेका छन् ।

यस अवस्थामा एकदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीमा सफल भएको सी विचारलाई बहुदलीय लोकतान्त्रिक संरचनाभित्र कसरी अनुकूलन गर्ने भन्ने प्रश्न उठ्नु जायज छ । यसको समाधान सी विचारधाराको हुबहु नक्कलमा नभएर लोकतान्त्रिक विधिअनुकूल गरिने रचनात्मक ग्रहणशीलतामा छ । सी विचारका केही गैर-राजनीतिक तर प्रशासनिक र नैतिक पक्षहरू छन्, जसलाई नेपालको बहुदलीय प्रणालीमा सजिलै आत्मसात गर्न सकिन्छ:

  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता: चीनमा सी चिनफिङले 'बाघ र झिँगा' दुवैलाई तह लगाउने भन्दै चलाएको भ्रष्टाचारविरोधी अभियान नेपालका वामपन्थी पार्टीहरूका लागि सबैभन्दा ठूलो पाठ हुन सक्छ । नेपालका वामपन्थी दलहरूभित्र र यसका भ्रातृ संगठनका मूल नेतृत्व नै नेपाली समाजमा भ्रष्टाचार फैलाउने प्रमुख कारक हुन् भन्ने जनविश्वास बलियो बन्दै गएको अवस्था छ । यी नेतृत्वका कारण मौलाएको बिचौलिया संस्कृति, भ्रष्टाचारजन्य सम्पत्तिको उपयोग र नव-धनाढ्य प्रवृत्तिलाई रोक्न कडा अनुशासन र आन्तरिक लोकतान्त्रिक छानबिन प्रणाली लागू गर्न सकिन्छ । यसले नेपाली समाजमा वामपन्थीहरूप्रतिको जनविश्वास पुन:स्थापना गर्न र गुमेको जनाधार फर्काउन प्रस्थानविन्दुका रूपमा काम गर्न सक्दछ ।

  • जनकेन्द्रित कार्यदिशा: बहुदलीय प्रतिस्पर्धामा जनताको मत नै वैधानिकताको स्रोत हो । सी विचारको 'जनतालाई केन्द्रमा राख्ने' दर्शनलाई नेपाली कम्युनिस्टहरूले चुनाव जित्ने माध्यमबाट माथि उठы स्थानीय सरकारमार्फत सुशासन र सेवा प्रवाह दिने माध्यम बनाउन सक्दछन् । स्थानीय तहदेखि प्रदेश र केन्द्रीय सरकारसम्मका योजनाहरूमा स्थानीय, जिल्ला र प्रदेश तहका पार्टी कमिटीहरूको संलग्नता बढाउने तथा नेताकेन्द्रित योजना विनियोजनभन्दा पार्टीका विभागहरूलाई राज्यका संरचना अनुरूप पुनर्संरचित गर्दा पार्टी नेताभन्दा जनताप्रति थप जिम्मेवार बन्न सक्छ । यसले पार्टी राजकीय जिम्मेवारीमा जाँदा जिम्मेवारी पाउने नेता मात्र नभएर सामान्य समर्थक र कार्यकर्ताले पनि त्यसमा अपनत्व महसुस गर्ने व्यवस्था निर्माण गर्न सम्भव हुनेछ ।

  • मेरिटोक्रेसी र योग्यता प्रणाली: चिनियाँ कम्युनिस्ट पार्टीमा पदोन्नति र जिम्मेवारी नेताहरूको कार्यक्षमता, सेवा प्रवाह र नतिजाका आधारमा हुने कुरा सुनिश्चित छ । यसका लागि कार्यकर्ताको क्षेत्रगत विकास र प्रशिक्षणका वास्ते नियमित कक्षाहरू तथा विशेष कार्यशाला सञ्चालनको विधि नै बनाइएको छ । पार्टीले सञ्चालन गर्ने यी प्रशिक्षणमा उत्कृष्ट हुने कार्यकर्ताहरू विधिवत् तवरमा माथिल्लो जिम्मेवारीमा स्तरोन्नति हुन्छन् । तर नेपाली वामपन्थी दलहरूको हकमा भने जबजको विकृत प्रयोग हुन पुग्दा कथित लोकतान्त्रिकीकरणका नाममा ठूला नेताका कृपापात्रहरूको विकास हुने अवस्था बनेको छ । यसरी पार्टीको जिम्मेवारीमा रहने नेतृत्व स्वयम् अयोग्य हुँदा ती अयोग्यहरूबीच नै राजनीतिक सुरक्षाका लागि बलियो स्वार्थसमूह निर्माण हुने र दलहरूमा गुटबन्दी तथा नातावाद बलियो बन्ने वर्तमानको यथार्थ हो । चिनियाँ कम्युनिस्ट पार्टीले कार्यान्वयनमा ल्याएको मेरिटोक्रेसी र योग्यता प्रणालीको पुनर्स्थापनाले मात्र पनि सांगठनिक परिचालन र योजना निर्माणमा देखिएको समस्या अन्त्य गर्नेछ ।

४) आन्तरिक प्रतिरोध, वैचारिक जडता र आत्मपरक समीक्षा

चिनियाँ विचारको नेपालीकरणको बाटोमा सबैभन्दा ठूलो तगारो बाह्य शक्ति या संवैधानिक जटिलता मात्र नभएर वामपन्थी दलभित्रैको आन्तरिक प्रतिरोध र वैचारिक जडता पनि बन्न सक्दछ । नेपाली वामपन्थी आन्दोलन इतिहासदेखि नै वैचारिक जडता र आत्मरतिबाट ग्रसित रहँदै आएको छ ।

एकातर्फ, वामपन्थी पार्टीहरूभित्र रहेको एउटा तप्का अझै पनि २० औँ शताब्दीको शास्त्रीय मार्क्सवाद-लेनिनवाद वा माओवादका जड सूत्रहरूमा बाँधिएको छ । उनीहरूका लागि मार्क्सवाद एउटा गतिशील विज्ञान नभएर धार्मिक ग्रन्थजस्तो बनेको छ । यो तप्काले जुनसुकै नयाँ विचार वा प्रयोगलाई 'संशोधनवाद' वा 'दक्षिणपन्थी भड्काव' को बिल्ला भिराएर संकुचित घेराभित्रै बस्न रुचाउँदछ ।

एकातर्फ, वामपन्थी पार्टीहरूभित्र रहेको एउटा तप्का अझै पनि २० औँ शताब्दीको शास्त्रीय मार्क्सवाद-लेनिनवाद वा माओवादका जड सूत्रहरूमा बाँधिएको छ । उनीहरूका लागि मार्क्सवाद एउटा गतिशील विज्ञान नभएर धार्मिक ग्रन्थजस्तो बनेको छ । यो तप्काले जुनसुकै नयाँ विचार वा प्रयोगलाई 'संशोधनवाद' वा 'दक्षिणपन्थी भड्काव' को बिल्ला भिराएर संकुचित घेराभित्रै बस्न रुचाउँदछ ।

अर्कोतर्फ, पार्टीको मूल नेतृत्व र ठूलो हिस्सा प्रगतिशील वामपन्थको खोल ओढेको तर दक्षिणपन्थी अवसरवादको शिकार भएको छ । पछिल्लो दशकमा सिद्धान्त र विचारका ठूला कुरा गर्ने तर व्यवहारमा सत्ता र शक्ति प्राप्तिका लागि नीति, निष्ठा र आदर्शलाई दाउमा राख्ने प्रवृत्ति व्यापक देखियो ।

त्यस्तै, वामपन्थी दलहरूका कार्यकर्ताहरूमा वैचारिक अध्ययनको शून्यता आजको यथार्थ हो । यी दलका सिद्धान्त र विचारहरूको नर्सरीका रूपमा काम गर्ने भ्रातृ संगठनहरूमा (जस्तै: विद्यार्थी युनियन, युवा संघ) रचनात्मक कार्य, श्रम र उत्पादनसँग जोडिनुभन्दा नेताहरूको 'बडीगार्ड' र 'निजी सेवक' बन्दा क्रान्तिलाई योगदान दिएको भावना विकास हुँदै गएको छ ।

आजको नेपाली वामपन्थी आन्दोलनमा 'सुन्ने अनि गुन्ने' प्रवृत्तिको अभाव छ । जब सी चिनफिङ विचारधाराको कुरा आउँछ, कि त यसलाई चीनलाई खुसी पार्ने एउटा राजनीतिक फन्डा बनाउने जोखिम रहन्छ, कि त यसको उपयोगिता र गहिराइलाई नबुझी अन्ध-विरोध गरिन्छ । सी चिनफिङले मार्क्सवादलाई २१ औँ शताब्दीको चिनियाँ यथार्थसँग जोडेर 'मार्क्सवादको चिनियाँकरण' गरेजस्तै, नेपाली नेताहरूले 'मार्क्सवादको नेपालीकरण' गर्न किन सकिरहेका छैनन् भन्ने प्रश्न यहाँ बढी जाज्वल्य छ ।

आजको नेपाली वामपन्थी पार्टीका संगठनहरूमा सी विचारको अनुशासन लागू गर्दा आन्तरिक रूपमा 'स्वेच्छाचारी र लोकतन्त्रविरोधी' कदम भन्दै प्रतिरोध हुने सम्भावना पनि रहन्छ । नेपालका वामपन्थी दलका नेता तथा कार्यकर्ताहरू छाडा, अराजक र अराजनीतिक संगठनात्मक संस्कृतिमा अभ्यस्त हुनु यसको कारक हुन सक्दछ ।

कार्यकर्ताले लेबी नतिर्ने, बैठकमा नआउने, तर सामाजिक सञ्जालमा आफ्नै नेतृत्वको खेदो खन्ने अराजकतालाई रोक्न खोज्दा हुने आन्तरिक प्रतिरोधलाई चिर्न नेतृत्व आफैँ नैतिक रूपमा स्वच्छ, वैचारिक रूपमा दृढ र ज्ञानमा निपूर्ण हुनुपर्छ । तर दुःखको कुरा, वामपन्थी दलहरूमा अहिलेको सबैभन्दा ठूलो समस्या प्रश्नरहित नैतिकतायुक्त र योग्य नेतृत्वको खडेरी नै हो ।

५) वामपन्थी पार्टी संगठन र भ्रातृ संगठन सुदृढीकरणको मार्गचित्र

नेपाली वामपन्थको मूलधारलाई बचाइराख्ने हो भने अबको पुनर्संरचना पुरानो ढर्राबाट सम्भव छैन । यस अवस्थामा नेपालका वामपन्थी दलहरूका पार्टी संगठन र राजनीतिक नर्सरीका रूपमा रहने भ्रातृ संगठनहरूको सुदृढीकरण अनिवार्य सर्त हो । यस कार्यका लागि वामपन्थी दलहरूले सी चिनफिङ विचारधाराबाट सांगठनिक प्रविधि सापटी लिएर नेपाली अनुकूलतामा ढाल्न निम्नलिखित ठोस रणनीतिहरू अवलम्बन गर्न सक्नेछन् :

  • अनुशासन र छानबिन प्रणाली: सांगठनिक क्षेत्रमा पार्टी अनुशासन कायम राख्नका लागि चिनियाँ मोडल अवलम्बन गर्दै भ्रष्टाचारमा शून्य सहनशीलता र शंकास्पदहरूमाथि कडा छानबिनका लागि स्वतन्त्र आन्तरिक अनुशासन आयोग गठन गर्ने तथा नेताहरूको सम्पत्ति र जीवनशैलीको नियमित अडिट गर्ने कार्य अविलम्ब प्रारम्भ गर्नुपर्दछ ।

  • नियमित वैचारिक प्रशिक्षण: वैचारिक प्रशिक्षणका क्षेत्रमा सी विचारधाराले दिएको मोडल अपनाउँदै वामपन्थ र वर्तमान नेपाली राजनीतिको ढाँचाबारे नियमित वैचारिक पुनर्निर्माण तथा पार्टी विचार अध्ययनका लागि स्कुल तथा कार्यशाला सञ्चालन गरी तल्लो कमिटी (सेल) सम्म अनिवार्य अध्ययन सर्कल बनाउने परिपाटी विकास गर्नुपर्छ । यस्ता प्रशिक्षणका लागि प्रविधिको प्रयोग गरी डिजिटल माध्यमबाट नियमित कक्षा सञ्चालन गर्न सकिन्छ ।

  • भ्रातृ संगठनहरूको पुनर्संरचना: भ्रातृ संगठनहरू भोलिका लागि पार्टीका प्रतिबद्ध कार्यकर्ता उत्पादन गर्ने नर्सरी हुन् भन्ने कुरालाई ध्यानमा राखेर यिनलाई उत्पादन र प्रविधिसँग जोड्नुपर्छ । विद्यार्थी र युवा संगठनहरूलाई विश्वविद्यालय र सडकको राजनीतिबाट उठाएर 'स्टार्ट-अप', सहकारी, उद्यमशीलता र सामाजिक सेवामा परिचालन गर्ने पार्टी पद्धति बनाउनु जरूरी छ । यसले यी संगठनहरूलाई कमिसनखोर, ठेकेदारी, रंगदारी असुली र तस्करहरूको संगठित समूह बन्नबाट रोक्नेछ ।

  • योग्यतामा आधारित नेतृत्व विकास: नेतृत्व चयनको पद्धति स्थापित गर्नु वर्तमान वामपन्थको अर्को प्रमुख कार्यभार हो । सी विचारले कार्यकर्ताहरूको बढुवाका लागि योग्यता, कार्यक्षमता र सेवा प्रवाहलाई मूल पक्षका रूपमा लिएको छ । यस नीतिको सही प्रयोगबाट निर्वाचनमा टिकट वा अन्य कुनै जिम्मेवारी दिँदा गुटको वफादारलाई नभई जनस्तरमा गरेको काम र लोकप्रियताको सूचकांक हेर्ने प्रणाली बसाल्न सुनिश्चित गर्न सकिन्छ ।

भ्रातृ संगठनहरू जनमानस र समाजमा केवल ढुंगा हान्ने वा टायर बाल्ने शक्तिका रूपमा मात्र चिनिनु हुँदैन । उनीहरूलाई चिनियाँ मोडलजस्तै 'उत्पादक फौज' मा रूपान्तरण गरिनुपर्छ । प्रत्येक गाउँपालिका र वडामा संगठित गरिएका वामपन्थी युवा कमिटीहरूले कृषि, सहकारी, पर्यावरण संरक्षण र प्रविधिको प्रवर्द्धन गर्ने स्थानीय उत्प्रेरक भएर काम गर्नुपर्छ । जब भ्रातृ संगठनहरू जनताको दैनिक सुख-दुःखको साथी बन्छन्, तब मात्र वामपन्थको सामाजिक जरा मजबुत हुनेछ ।

६) उपसंहार: मौलिकता नै वामपन्थ पुनरुत्थानको एक मात्र विकल्प

आज नेपाली संस्करणको वामपन्थ इतिहासकै गम्भीर संकटको सामुन्ने उभिएको छ । नेपाली समाजमा एकातिर पुँजीवादी उपभोक्तावादको आँधी तीव्र गतिमा छ । यसले सर्वहारा वर्ग र यसको प्रतिनिधित्व दाबी गर्ने राजनीतिक समूहको चेतनालाई विलासिताको बजारमा वस्तु बनाएर बेचिरहेको छ भने अर्कोतिर नेपाली वामपन्थी राजनीतिक संगठनहरू आन्तरिक फुट, गुटबन्दी, वैचारिक दिवालियापन र दलालीकरणले खोक्रा बन्दै गएका छन् ।

यस गम्भीर संकटलाई समाधान गर्नका लागि चिनियाँ विशेषतासहितको समाजवादी सिद्धान्त र सी चिनफिङ विचारधाराले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना छ । तर, नेपाली वामपन्थमा देखिएको यस समस्या समाधानका लागि यो उपाय एक मात्र निर्विकल्प 'तयारी ओखती' हो भन्ने दाबी गर्नु त्रुटिपूर्ण पनि हुन सक्दछ । नेपालको आफ्नै विशिष्ट भूराजनीतिक संवेदनशीलता छ, भिन्न संवैधानिक राजनीतिक संरचना छ, भिन्न विचार छ र बहुलवादी विचारयुक्त सामाजिक संरचना छ । हाम्रो आफ्नै लोकतान्त्रिक र समाजवादी व्यवस्था उल्लेख भएको समावेशी संविधान छ, जसले बहुदलीय प्रतिस्पर्धाको ग्यारेन्टी गर्दछ । यस विशेषताले हामीलाई विश्वका जुनसुकै स्थानमा सफल कार्यान्वयनमा रहेका राजनीतिक विचारको अन्धानुकरण गर्ने अनुमति दिँदैन ।

भ्रातृ संगठनहरू जनमानस र समाजमा केवल ढुंगा हान्ने वा टायर बाल्ने शक्तिका रूपमा मात्र चिनिनु हुँदैन । उनीहरूलाई चिनियाँ मोडलजस्तै 'उत्पादक फौज' मा रूपान्तरण गरिनुपर्छ । प्रत्येक गाउँपालिका र वडामा संगठित गरिएका वामपन्थी युवा कमिटीहरूले कृषि, सहकारी, पर्यावरण संरक्षण र प्रविधिको प्रवर्द्धन गर्ने स्थानीय उत्प्रेरक भएर काम गर्नुपर्छ ।

त्यसैले, नेपाली वामपन्थको मूलधार बचाइराख्नका लागि सी विचारधाराको आत्मा अर्थात् 'कडा अनुशासन, जनताप्रतिको समर्पण र वैचारिक गतिशीलता' लाई अङ्गीकार गर्दै, त्यसको बाहिरी आवरणलाई नेपाली माटो, संस्कृति र लोकतान्त्रिक मूल्यअनुरूप ढाल्दा मात्र पनि वर्तमान संकटबाट त्राणको दिशामा यात्रा प्रारम्भ हुन सक्दछ । यसका साथै नेपाली वामपन्थले चीनबाट अनुशासन र आर्थिक समृद्धिको मोडल सिक्दै पश्चिम र आफ्नै इतिहासबाट लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्ने रणनीति तय गर्नु उपयुक्त मार्ग हुन सक्दछ ।

यी दुवै पक्षको सन्तुलित सम्मिश्रणबाट 'जबज' ले ल्याइपुर्‍याएको चुनावदेखि चुनावसम्मको दुष्चक्रलाई तोड्ने 'नेपाली विशेषतासहितको समाजवाद' को मौलिक राजनीतिक विचारको नयाँ मार्गचित्र बनाउन सकिनेछ । यही नेपाली विशेषतासहितको समाजवाद नै वर्तमानमा वामपन्थप्रतिको गुमेको जनविश्वास कायम राख्ने उपयुक्त वामपन्थी सिद्धान्त बन्न सक्दछ । नेपाली वामपन्थको पुनर्जीवन र बचाउको एक मात्र तथ्यसम्मत र वैज्ञानिक बाटो यही नै हुन सक्ने कुरामा सम्पूर्ण वामपन्थी समर्थकहरूले एकपटक गम्भीर रूपमा सोच्ने हो कि ?

लेखक चिनारी

मनोजकुमार रिजाल
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७