निर्वाचनमा सामाजिक सञ्जाल र डीपफेकको प्रभाव देखियो : बाबुराम भट्टराई


२०८२ फाल्गुण ३० शनिबार १४:३३ बजे

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जाल, गलत सूचना र डीपफेकको प्रभाव देखिएको बताएका छन्।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित ‘एनएक्सटी २०२६ ग्लोबल समिट’लाई शनिबार सम्बोधन गर्दै उनले डिजिटल प्लेटफर्महरू आधुनिक सूचना युद्धका माध्यम बन्दै गएको बताए।

उनले नेपालमा युवाले नेतृत्व गरेको राजनीतिक परिवर्तनप्रति सावधानीपूर्ण आशा व्यक्त गर्दै लोकतन्त्रमा नयाँ पुस्ताको उभार देखिएको उल्लेख गरे। दक्षिण एसियामा विश्वकै ठूलो युवा जनसंख्या रहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई पहिलो एआई–नेटिभ राजनीतिक पुस्ताको उदयस्थलका रूपमा व्याख्या गरेका छन्। युवाहरू प्रविधिका उपभोक्ता मात्र नभई निर्माता र नियन्त्रक बन्नुपर्ने उनको सुझाव थियो।

भट्टराईले एआई नियति नभई राजनीतिक छनोट भएको बताएका छन्। उनका अनुसार एआईलाई लोकतन्त्रको शत्रुभन्दा पनि शक्तिको केन्द्रीकरण नै मुख्य खतरा हो। प्रविधि लोकतान्त्रिक नियन्त्रण, नैतिकता र मानव हितका आधारमा प्रयोग गरिए लोकतन्त्रलाई बलियो बनाउन सकिने तर त्यसो नभए विश्वमा असमानता र अस्थिरता बढ्न सक्ने उनले चेतावनी दिए।

‘एआईको भविष्य नियति होइन, यो आजका राजनीतिक र नैतिक निर्णयहरूको परिणाम हो ।’

उनले नेपाल–भारत सम्बन्ध, दक्षिण एसियाको भूमिका र विश्वव्यापी डिजिटल शक्ति सन्तुलनबारे पनि टिप्पणी गरेका छन्। भारतले प्रविधिलाई मानव हितसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै उनले ‘सर्वजन हिताय, सर्वजन सुखाय’ अवधारणाको प्रशंसा गरेका छन्। भारतमा अध्ययन गरेको अनुभव स्मरण गर्दै नेपालका छिमेकीका रूपमा आफूलाई गर्व लागेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा उनले एआई, रोबोटिक्स र स्वचालनले विश्व अर्थतन्त्र मात्र नभई शक्ति सन्तुलन र शासन प्रणालीसमेत पुनर्गठन गरिरहेको बताए। यदि एआई केही ठूला प्रविधि कम्पनी वा शक्तिशाली राष्ट्रहरूको नियन्त्रणमा रह्यो भने डिजिटल अल्पतन्त्र जन्मिन सक्ने उनको चेतावनी छ।

विकासोन्मुख देशहरू डाटा उपनिवेशवादको जोखिममा पर्ने उल्लेख गर्दै उनले आफ्नै प्रविधि विकास नगरी विदेशी एआई प्रणालीमा निर्भर रहने देशहरूको राष्ट्रिय स्वायत्तता कमजोर हुन सक्ने बताएका छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७