गृहमन्त्रीसहित दुवै प्रहरीका कार्य विभाग हेर्ने एआईजी र उच्च सुरक्षा अधिकारी प्रदेश मधेशमा
काठमाडौं : सुनसरीमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सरकारले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्दै वरिष्ठ सुरक्षा अधिकारीहरूलाई फिल्डमा परिचालन गरेको छ।
तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन, सम्भावित अप्रिय घटना रोक्न तथा प्रदेश र जिल्ला प्रशासनसँग प्रभावकारी समन्वय गर्न गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारी मधेस प्रदेशमा केन्द्रित भएका छन्।
गृहमन्त्री गुरुङ सुनसरीमा घटनास्थलको अनुगमन, पीडित परिवारसँग छलफल तथा सुरक्षा अवस्थाबारे जानकारी लिएपछि शुक्रबार सिरहा पुगेका छन्। यसैबीच, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्य विभाग हेर्ने दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)लाई जनकपुर खटाइएको छ। नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठ र सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर जनकपुर पुगेर सुरक्षा समन्वयमा सक्रिय रहेका छन्।
नेपाल प्रहरीले मधेस प्रदेशका संवेदनशील जिल्लामा सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन डीआईजी र एसएसपी तहका अधिकारीहरूलाई समेत परिचालन गरेको छ। डीआईजी दिनेशकुमार आचार्यलाई सिरहा र डीआईजी अबिनारायण काफ्लेलाई सप्तरी खटाइएको छ।
त्यसैगरी, एसएसपी गोपालचन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्रसिंह राठौरलाई पर्सा, एसएसपी दीपशम्शेर जबरालाई रौतहट, एसएसपी कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, एसएसपी होबिन्द्र बोगटीलाई बारा, एसएसपी भुवनेश्वर तिवारीलाई धनुषा तथा एसएसपी अमरेन्द्रबहादुर सिंहलाई मधेस प्रदेशस्तरीय सुरक्षा समन्वयको जिम्मेवारी दिइएको छ।
सुरक्षा निकायका अनुसार परिचालित उच्च अधिकारीहरूले सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन, सूचना संकलन तथा विश्लेषण, स्रोत–साधनको परिचालन र प्रदेश तथा जिल्ला सुरक्षा निकायसँग समन्वय गर्दै शान्ति–सुरक्षा कायम राख्ने काम गरिरहेका छन्।
.gif)

.png)

