सशस्त्रका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस


२०८३ असोज २३ शुक्रबार १३:०५ बजे

काठमाडौं : सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिको रिपोर्टपछि दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको हो ।

सिफारिसका आधारमा गृह मन्त्रालयले आवश्यक कागजात तयार पारिरहेको स्रोतले जनाएको छ। दाहाललाई बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुनेछ।

दाहाल गत १९ गते निलम्बनमा परेका थिए। उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ हुन्। 

गत असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए। दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समय तालिकासम्बन्धी सूचना निगरानी गरी चुहावट गरेको आरोप छ। 

पूर्वप्रधानन्यायाधीश राणाको मोबाइल फोनको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतको दाबी छ।

विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र त्यसमा दाहालको समेत भूमिका देखिएको स्रोतले जनाएको छ।

गत वर्षको जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर रिट अझै विचाराधीन छ। 

उक्त रिटलाई आधार बनाएर सरकार ढाल्नेसम्मका गतिविधिमा राणा सक्रिय रहेको र त्यसमा दाहालले सहयोगी भूमिका निर्वाह गरेको सशस्त्र प्रहरी स्रोतको दाबी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७