जेनजीले माग गरेका तीनमध्ये दुई वटा पूरा हुन बाँकी : शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक अभ्यास जोगाउन र देशलाई स्थायित्वको बाटोमा अघि बढाउन ताजा निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।
पछिल्ला ६ दिनमा ९ जिल्ला भ्रमण गरेका शर्माले विभिन्न कार्यक्रममा सहभागी हुँदै निर्वाचनमार्फत प्रणालीलाई पुनः ट्र्याकमा ल्याउनुपर्ने धारणा राखेका हुन् ।
'संसद् पुनर्स्थापना कि आमनिर्वाचन ? कांग्रेसभित्र फरक मतहरू छन्, जुन स्वाभाविक हो,' शर्माले भने, 'तर संयमता र एकताका साथ केन्द्रीय समितिको निर्णयमा पुगिनेछ। मेरो मत ताजा निर्वाचनको पक्षमा हुनेछ।'
उनले लोकतान्त्रिक प्रणालीलाई जोगाउन निर्वाचन आवश्यक रहेको बताउँदै चुनाव नगराउने खतरालाई चिर्न सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिएका छन्। 'सजगता र दबावको भूमिका हामीले निभाउनैपर्छ,' उनले कार्यकर्तालाई आग्रह गरे।
शर्माले झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा र मकवानपुर जिल्लाको भ्रमण गर्दै आगजनीबाट क्षतिग्रस्त संरचनाहरूको अवलोकनसमेत गरेका छन्।
जेनजी आन्दोलनबारे टिप्पणी गर्दै शर्माले उक्त आन्दोलनका तीनमध्ये सामाजिक सञ्जाल खोल्नेसम्बन्धी माग पूरा भइसकेको बताए । तर भ्रष्टाचार निवारण र सुशासन सुनिश्चित गर्ने माग अझै बाँकी रहेको उल्लेख गर्दै, ती मागप्रति कांग्रेसको समर्थन रहने स्पष्ट पारे ।