सत्ताभोगका लागि दल कब्जा गरेर बसेका मुख्य नेताहरू यो दुर्दशाको जिम्मेवार : घनश्याम भुसाल
‘राजनीतिक दलहरू निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दैछ’

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले यो दुर्दशाको मुख्य जिम्मेवार मरणोपरान्त सत्ताभोगका लागि दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू भएको बताएका छन् । मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा गरेर दलहरूभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नु पर्ने उनको भनाई छ ।
‘अहिले पनि मुख्य राजनीतिक पार्टीहरूमा संस्थागत सुधारको परिणाममुखी पहलकदमी देखिएको छैन। मुलुक यस दुर्दशामा पुग्नका लागि अनेक कारण छन्। ती देशभित्र र बाहिर पनि छन्,’ उनले सोमबार विज्ञप्ती जारी गरेर भनेका छन्, ‘तर मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू नै यसका मुख्य जिम्मेवार हुन्। कुनै पनि बहानामा यस तथयलाई अस्वीकार गरियो भने मुलकलाई अस्थिरताको अर्को चक्रबाट बचाउन सकिँदैन।’
नेतृत्वमा रही रहन मुल नेताहरुले फेरि पनि भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेको उनको भनाई छ । भनेका छन्, ‘अब हामीसँग दुई वटा बाटो छ। एउटा दलका नेताहरू फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन्। बहानाबाजी सुरु पनि भइसकेको छ। यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन्। संकटमा यिनीहरू छन्। संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदैछ। वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन्।’
महासचिव भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी पनि दिए। राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको उनले स्पष्ट पारे।
सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले बताए। राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको बताए। जेन जी आन्दोलनबाट भएका घटनाहरु आफ्ना लागि नयाँ नभएको बताए। आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको उनको भनाई थियो।
उनले भने, ‘सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरु नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म। अहिले जे घटनाहरु घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन। कसको घर जल्यो, कुन घर जल्यो भन्नेमात्रै फरक हो। नत्र भने घरहरू जल्छन् भन्नेकुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्नेकुरा देखिन्थ्यो। त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारेमा मैले भनेको थिएँ।’
महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरुको घरानामा मात्रै सिमित रहेको बताए। राजनीतिक पार्टीहरुमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको बताए।