प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा श्रेष्ठ नियुक्त

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आदर्शकुमार श्रेष्ठलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेकी छन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ हाल कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्।
श्रेष्ठ लामो समयदेखि न्यायपालिकामा संलग्न रहँदै आएका छन्। उनले पूर्वप्रधानन्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र वर्तमान प्रधानमन्त्री समेत रहेकी सुशीला कार्कीको निजी सहायकको रूपमा कार्य गरेका थिए । न्यायालयमा आफ्नो प्रशासकीय दक्षता र अनुभवका कारण उनी प्रधानमन्त्रीको विश्वासपात्र सहयोगीका रूपमा स्थापित भएका हुन् ।
यसअघि प्रधानमन्त्री कार्कीले मुख्य सल्लाहकारमा सञ्चारकर्मी अजयभद्र खनाललाई नियुक्त गरेकी थिइन्। खनाल ‘उकालो डटकम’ का पूर्वसम्पादक हुन्।
त्यस्तै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका थिए । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्, जुन संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।