प्रचण्डको घडी र गंगाको झोला बेचेर ‘कोष’ मा जम्मा गर्न प्रस्ताव

काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को जीवनशैलीलाई लिएर नेताहरूले प्रश्न उठाएका छन् । बिहीबारदेखि जारी बैठकमा अध्यक्ष दाहालको परिवारको महँगो र विलासी जीवनशैलीमाथि पनि केन्द्रीय सदस्यले प्रश्न उठाएका हुन्।
बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पन्तले अध्यक्ष दाहालको ६४ लाख रुपैयाँ पर्ने रोलेक्स घडी र उनकी छोरी गंगा दाहालको २८ लाख रुपैयाँको लुई भिटन ह्यान्ड ब्यागबारे उठिरहेको सार्वजनिक प्रश्नलाई बैठकमा उठाएका छन् ।
पन्तले बैठकमा प्रश्न गर्दै भने, 'यदि यी विषयमा मिडियामा आएका समाचार गलत हुन् भने, तत्कालै मिडिया र कांग्रेस सांसद सुनिल शर्माविरुद्ध मानहानिको मुद्दा दायर गरौँ ।'
पन्तले यी सामग्रीहरू उपहारस्वरूप प्राप्त भएको भए बिक्री गरेर घाइते योद्धाको कोषमा रकम जम्मा गर्न सुझाव दिएका छन् । यदि प्रधानमन्त्रीका हैसियतले प्राप्त भएको हो भने, ती सामान सरकारी कोषमा बुझाउनुपर्ने पनि उनको प्रस्ताव छ।
पन्तले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि लागेको उपहार बिक्री सम्बन्धी मुद्दाको उदाहरण दिँदै नेपालमा पनि जबाफदेही हुनुपर्ने बताए।