‘संविधानको पूर्ण कार्यान्वयन हुनुपर्छ’


२०८२ असोज ३ शुक्रबार २०:३८ बजे

काठमाडौँ : नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा शिक्षा स्वास्थ्यजस्ता आधारभूत कुरा पनि निःशुल्क हुन नसकेको जेनजी पुस्ताले बताएका छन् ।

संविधान दिवस २०८२ का अवसरमा गैरसरकारी संस्था महासङ्घले शुक्रबार आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा जेनजी र सरोकारवालाको भूमिका’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताहरूले संविधानमा लेखिएका मौलिक हकका धेरै विषयहरू कार्यान्वयनमै नआएको बताएका हुन् ।

कोशी प्रदेशका जेनजी वार्ता कमिटीका संयोजक उर्पाजन चाम्लिङले गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न जेनजीको उत्तिकै भूमिका भए पनि संविधानमा भएका मौलिक हक कार्यान्वयन हुन नसक्दा आधारभूत शिक्षा स्वास्थ्यजस्ता विषयसमेत निःशुल्क हुन नसकेको बताए । उनले जेनजीको आन्दोलन भ्रष्टाचारविरुद्ध सुशासन र युवा सहभागिता भएको र आगामी निर्वाचनमा युवा सहभागितालाई सबै दलले ध्यान दिनुपर्ने सुझाव दिए ।

जेनजी प्रतिनिधि महेन्द्र चन्दले कलम चलाउने पुस्ताले देशको सुशासन, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा गोली चलाएपछि सत्ता परिवर्तन हुनेसम्मको अवस्था आएको र यो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए । संविधानमा भएका व्यवस्थामात्र राम्रोसँग कार्यान्वयन गरेमा मुलुकमा समानता, समावेशिता र युवा सहभागिता वृद्धि हुने उनको भनाइ थियो ।

जेनजी प्रतिनिधि अजय कार्कीले देश निर्माण गर्ने युवा बेरोजगार भएर विदेश पलायन भइरहेको अवस्था रोक्नका लागि संविधानको अक्षरशः कार्यान्वयन जरुरी भएको बताए । कार्यक्रममा सहभागी जेनजी प्रतिनिधिले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्ने, राजनीतिमा युवा सहभागिता हुनुपर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरा निःशुल्क हुनुपर्ने, देशका युवालाई स्वदेशमा नै रोजगारीको सृजना गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईले सबैले मिलेर संविधान र नयाँ परिवर्तनको रक्षा गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि नागरिक समाजले सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७