ओली संविधान दिवसमा भोली ‘सार्वजनिक हुने’
भक्क्तपुरको गुन्डुमा बसोबासको तयारी

काठमाडौं :जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली संविधान दिवसमा सहभागी हुने भएका छन् । नेकपा (एमाले)को मुख्यालय च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा सार्वजनिक हुने एमालेका एक नेताले बताए ।
बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ । स्रोतका अनुसार भक्क्तपुरको गुन्डुमा उनको बसोबासको तयारी थालिएको छ । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ ।
पछिल्लोपटक अद्यावधिक तथ्यांकअनुसार आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना छ । त्यसमा प्रदर्शनकारीतर्फ २१ (२३ गतेको प्रदर्शनमा), अन्यतर्फ (२४ गतेको विध्वंसात्मक घटनापश्चात्) ३८, कैदीबन्दी र बालबन्दीतर्फ १० जना छन् । यसैगरी, घाइतेमा नेपाल प्रहरीतर्फ ३८४ छन् । त्यसमध्ये ३२० जना डिस्चार्ज भएका छन् भने ६४ जना उपचाररत छन् । सशस्त्रतर्फ २२६ जना घाइते भएकोमा २२१ डिस्चार्ज र पाँच उपचाररत छन् । आन्दोलनकारीतर्फ ११६ जना उपचाररत रहेको तथ्यांक छ ।
गृह मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट २६३ सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार ३४२ सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।
जेन–जी आन्दोलनको पहिलो दिन (२३ भदौ)मै सरकारको बर्बर दमनमा १९ युवा मारिएपछि पनि प्रधानमन्त्री केपी ओलीले देखाएको हठका कारण ठुलो जनधनको क्षति भएको उनकै सरकारका मन्त्रीहरूले बताएका छन् । १९ निहत्था युवा मारिएपछि बसेको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले घटनाप्रति माफी माग्नुपर्ने, तत्काल सामाजिक सञ्जाल खुलाउनुपर्नेजस्ता प्रस्ताव गरेका थिए । तर, मन्त्रीहरूका अनुसार ओलीले ‘सिनामंगलबाट आएका प्रदर्शनकारीसँग बन्दुक रहेको र प्रहरीले नभई उनीहरूले नै गोली हानेको’ ब्रिफिङ गर्दै ती प्रस्तावलाई ठाडै इन्कार गरेका कारण २४ भदौको आन्दोलनले ठुलो क्षतिसहित भयावह अवस्था निम्त्याएको हो ।