विकल्प नभएपछि आम सहमतिमा संसद् विघटन गरेँ : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको दुई दिनमा देशले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोर्दा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनाएको बताएका छन् ।
‘प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौँ’ उनले भने, ‘६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं ।’ मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे।
जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुनर्निर्माण अहिलेको मुख्य कार्यभार रहेको उनको भनाइ छ। साथै राजनीतिक दल, मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन उनको आह्वान छ।
राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे । उनले अहिलेको अन्तरिम सरकारले ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने बताए ।