संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री कँडेल


२०८२ असोज ३ शुक्रबार २०:३४ बजे

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संविधानको प्रभावकारी कार्यान्वयनबाट नै नागरिकका अधिकारहरूको संरक्षण गर्न सकिने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधानले प्रत्याभूति गरेका नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए ।

मुलुकमा नयाँ संविधान जारी भएको एक दशक बितिसक्दा पनि नागरिकहरूले संविधान प्रदत्त अधिकार प्राप्त गर्न नसकेको भन्दै असन्तुष्टि बढेको उनले बताए । ‘राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन हुन केही समय पक्कै लाग्छ नै’ उनले भने, ‘नेपालले पनि विकासको गतिमा बिस्तारै फड्को मारिरहेको छ ।’

सबैको एकताबद्ध प्रयासबाट मात्रै मुलुकले विकासको मार्ग पहिल्याउन सक्ने उनको विश्वास छ ।

संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरू लिएर सडकमा आएको जेन–जी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाले गम्भीर चुनौती उत्पन्न भएको बताए । पछिल्लो घटनाक्रमले मुलुकलाई फेरी दसकौँ पछाडि धकेल्ने प्रयत्न भएको उनको भनाई छ ।

कँडेलले सङ्घीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आएको बताए ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले संविधान जोगाएर नागरिकका अधिकारको रक्षाका लागि जेन–जी पुस्ताको मागहरु सम्बोधन गरी राजनीतिक दलहरुबीच एकता र सहकार्य जरुरी भएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७