व्यापारिक भवनभित्रै जलेर १५ जनाको मृत्यु

काठमाडौँ : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलन हिंसात्मक बनेसँगै देशभरि निजी तथा सरकारी सम्पत्तिमा ठूलो आगजनी र तोडफोड भएको छ ।
त्यस क्रममा देशभर विभिन्न व्यापारिक भवन, सुपरमार्केट र निजी संरचनामा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको पुष्टि भएको छ । धेरैजसोको मृत्यु निसास्सिएर तथा जलेर भएको छ ।
जसमध्ये भाटभटेनी सुपरमार्केटका तीन शाखामा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको छ । भाटभाटेनी सुपरमार्केटको चुच्चेपाटी शाखामा ७ जना, इटहरी शाखामा ४ जना र विराटनगर शाखामा १ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ तर, तीमध्ये अधिकांशको सनाखत अझै हुन सकेको छैन।
व्यापारिक तथा निजी भवनभित्र जलेर मृत्यु भएका १५ मध्ये हालसम्म तीन जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । मृतकमध्ये काठमाडौँ चन्द्रागिरि–५ का ४० वर्षीय महेन्द्र परियार दोलखाको बैत्यश्वर गाउँपालिका–८ क्षत्रपाकी २६ बर्सिया स्वस्थानी खड्का, दोलखाको बैत्यश्वर गाउँपालिका–८ क्षत्रपाकी २६ बर्सिया स्वस्थानी खड्का र काभ्रेको भुम्लु गाउँपालिका–४ का २६ वर्षीय सरोज खत्री रहेका छन्।
आन्दोलनका क्रममा सरकारी कार्यालयहरू, ठूला व्यापारिक कम्प्लेक्स, सपिङ मल, निजी उद्योग र बैङ्कहरूमा समेत आगजनी र तोडफोड गरिएको छ। प्रारम्भिक अनुमानअनुसार अरबौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
विश्लेषकहरूका अनुसार, सरकारको कमजोर सुरक्षा नीति, आन्दोलनकारीमाथिको अनावश्यक बल प्रयोग र संवादहीनताले आक्रोशलाई विस्फोटमा रूपान्तरण गरेको हो । सामाजिक सञ्जालमार्फत जेनजीहरू सडकमा आएका थिए ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् । कार्की पूर्व प्रधानन्यायाधीश पनि हुन् । नवनियुक्त प्रधानमन्त्री कार्कीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले ६ महिनाभित्र निर्वाचन गर्नुपर्नेछ ।