जेनजी आन्दोलनलाई समर्थन गर्दै लिङदेनले भने : देश अब पुरानै ढर्राबाट चल्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अब पुरानो ढर्राबाट नचल्ने भन्दै युवा पुस्ताको आवाजलाई सम्बोधन गर्न माग गरेका छन् ।
आज जेनजी पुस्ताले काठमाडौंसहित देशका विभिन्न सहरमा गरिरहेको प्रदर्शनप्रति राप्रपाको ऐक्यबद्धता रहेको अध्यक्ष लिङदेनले स्पष्ट पारेका छन् ।
उनले नवयुवाहरूले उठाएको आवाज उनीहरूको मात्र नभएर सम्पूर्ण देशको आवाज भएको बताएका छन् ।
उनले भनेका छन्, ‘भ्रष्टाचार आजको नेपाललाई ध्वस्त बनाउने सबैभन्दा ठूलो रोग हो। नवयुवाहरूले उठाएको आवाज केवल उनीहरूको मात्र होइन, सम्पूर्ण नेपाली जनताको साझा पीडा हो। हामीलाई पूरा विश्वास छ, प्रदर्शनका माध्यमबाट नव युवा पुस्ताले प्रष्ट सन्देश दिनेछन्– यो देश अब पुरानै ढर्राले चल्दैन।’
साथै प्रदर्शनमा कुनै प्रकारको दमन र हस्तक्षेप नगर्न र तत्काल नव युवा पुस्ताको आवाजलाई सम्बोधन गर्न सरकारसँग अपिल पनि गरेका छन् ।