राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सत्ता साझेदार नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका थियो ।
उक्त समयभित्र उनी बाहेक अरु कसैको पनि मनोनयन नपरेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् । उनी निर्वाचित भएको औपचारिक घोषणा बाँकी नै छ । संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडको प्रावधानको विषयमा चलखेल भएपछि तत्कालीन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।
चलखेलको छानबिन गर्न बनेको समितिले रामहरिलाई जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएका थिए । उक्त रिक्त पदमा न्यौपाने सर्वसम्मत भएकी हुन् ।
न्यौपाने सर्वसम्मत निर्वाचित भएको घोषणा बुधबार मात्रै हुनेछ । बुधबार समितिको बैठक बस्दैछ । न्यौपानेलाई कांग्रेस संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा गर्न लगाएर राज्य व्यवस्था समितिमा ल्याएको हो ।
पार्टीका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले यसअघिका सभापति खतिवडालाई नै दोहोर्याउन खोजेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित इतर समूहका नेताहरूले दीलेन्द्र बडूको नाम अघि सारेका थिए । देउवाले बडूको नाम स्वीकार नगरी न्यौपानेको नाम प्रस्ताव गरे ।
उनकै नाममा आज मंगलबार नै बसेको पदाधिकारी बैठकमा सहमति जुटेको थियो । न्यौपानेले सुनुवाइ समितिबाट आजै सभामुखलाई भेटेर राजीनामा बुझाएकी हुन् । राजीनामा दिएलगत्तै उनी सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएकी थिइन् ।