राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि मनोनयन दर्ता गराएकी छिन् । मंगलबार दिउँसो न्यौपानेले संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
न्यौपानेले केही बेरअघि राज्य व्यवस्था समितिको सभापति बन्नका लागि संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । उम्मेदवारी दर्ताका लागि न्यौपाने निवर्तमान सभापति रामहरि खतिवडा र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलगायत सांसदसँग संसद् सचिवालय पुगेकी थिइन् ।
मनोनयनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको छ । यद्यपि सत्ता गठबन्धनको भागबन्डा भएका कारण प्रमुख प्रतिपक्ष माओवादीले उम्मेदवारी नदिने निर्णय गरेको छ ।
अन्य सांसदले उम्मेदवारी दर्ता नगराए उनी सर्वसम्मत रूपमा सभापति चयन हुने छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समितिको रूपमा रहेको सुनुवाइ समितिमा भने अब नयाँ सभापति छान्नुपर्ने छ ।
यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको दुवै समितिमा सभापति बनाउनपर्ने भएपछि बिहान पार्टी सभापति शेरबहादुर देउवाले बैठक राखेर न्यौपानेलाई अघि सारेका थिए ।