कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेलाई पठाउने

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको शीर्ष नेताहरूको छलफलले न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । न्यौपाने संसदीय सुनुवाइ समिति सभापति छिन् ।
‘संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिने र आजै राज्य व्यवस्था समिति सभापति पदका लागि मनोनयन दर्ता गराउने निर्णय भएको छ,’ छलफलमा सहभागी कांग्रेसका एक पदाधिकारीले सुनाए ।
सभापति देउवाले नै न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति बनाउने प्रस्ताव अघि सारेका थिए । यसअघि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले रामहरि खतिवडालाई नै राज्य व्यवस्था समिति सभापतिमा निरन्तरता दिनुपर्ने कुरा राखेका थिए । कुलिङ पिरियडसम्बन्धी त्रुटिमा खतिवडालाई संसदीय समितिले नैतिक जिम्मेवार ठहर्याएको थियो ।
खतिवडाले साउन २७ गते पदबाट राजीनामा दिएका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खतिवडालाई सभापतिमा फेरि पठाउने कुरामा असहमति राखेपछि सभापति देउवाले न्यौपानेलाई सभापति बनाउने प्रस्ताव अघि सारेको र त्यही नाममा सहमति जुटेको ती पदाधिकारीको भनाइ छ ।
‘सभापति देउवा पक्षले संस्थापन इतर पक्षका सांसदलाई राज्य व्यवस्था समिति सभापति दिन चाहेन, त्यसैले सभापतिले आफू निकट न्यौपानेको नाम प्रस्ताव गर्नुभयो र सबैको सहमति रह्यो,’ ती पदाधिकारीले भने ।
राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका सांसदहरू अम्बिका बस्नेत, गगन थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाईं, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य छन् ।