शशांक भन्छन्–सोंचेको हुन्छ एउटा कुरा, भइदिन्छ अर्कै
‘रमाउन नसक्नेले राजनीति नगर्दा हुन्छ’
पोखरा । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति रमाउनेहरूको लागि मात्रै उचित हुने टिप्पणी गरेका छन् । डा. कोइरालाले रमाउन नसक्ने मान्छेले राजनीति गर्न नहुने समेत सुझाव दिए । ‘जो रमाउन सक्दैन, त्यसले राजनीति नगरे हुन्छ । म चाहिँ आजकल रमाइरहेको छु । किनभने सोच्छु एउटा कुरा, हुन्छ अर्कै कुरा ।’
नेता कोइरालाले राजनीति कहिल्यै आफ्नो बस्मा नहुने समेत बताएका छन् । डाक्टरी पढेर राजनीतिमा आएका उनले मेडिकल क्षेत्र आफ्नो कन्ट्रोलमा हुने तर, राजनीति कन्ट्रोल बाहिर हुने बताए । ‘मेडिकल आफ्नो कन्ट्रोलमा हुन्छ । तपाईले बिरामीको पीडा हरण गरिदिनु हुन्छ,’ उनले थपे, ‘तर राजनीति कहिल्यै तपाईंको हातमा हुँदैन । सोचेको हुन्छ एउटा कुरा, भइदिन्छ अर्कै कुरा ।’
पोखरामा बिपी चिन्तन प्रतिष्ठान गण्डकीले आयोजना गरेको नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालमा कृषिको राम्रो सम्भावना भए पनि उचित उपयोग गर्न नसकिएको बताएका छन् । ‘नेपालको पहिलो सम्भावना हो पर्यटन, कोभिड १९ का कारण घट्यो । दोस्रो हो हाइड्रो, त्यसमा काम हुँदैछन् । तेस्रो कृषि नै हो । नेपालमा कृषिको धेरै सम्भावना छ’, उनले भने ।