उत्तर दिन रोष्ट्रम उभिएका प्रधानमन्त्रीले नै पोखे असन्तुष्टी र गुनासो
काठमाडौं : विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदहरुको गुनासो सम्बोधन अर्थात् प्रश्नहरुको उत्तर दिन संसद पुगेका थिए । तर रोष्ट्रममा गुनासो र असन्तुष्टी सम्बोधनका लागि उभिएका प्रधानमन्त्री प्रचण्डले उल्टै असन्तुष्टी र गुनासो सुनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बजेट निर्माणमा मन्त्रीले नटेरेको देखि आफूले सम्बोधन गर्ने दिन संसद्मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले बजेटमा ससाना आयोजना परेको विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले नटेरेको बताए ।
‘माननीय मन्त्रीजीहरुले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको (निर्देशिका), प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो … ’ उनले अगाडि भने, ‘भन्दा भन्दै पनि साना आयोजाना राखिएको छ ।’
प्रधानमन्त्रीले आफूले सम्बोधन गर्ने दिन संसद्मा पर्याप्त सांसद र मन्त्री नआएमा पनि असन्तुष्टि व्यक्त गरे ।
प्रधानमन्त्रीले भने, ‘सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु, हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू आकस्मिक काम बाहेक सबै मन्त्रीहरू उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो । अब क्रमशः त्यो पातलिन थालेको छ । हामीले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला, यो प्रक्रिया जारी रह्यो भने हामी आफैँले आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ ।’