नेपाल एयर लाइन्स आर्थिक संकटमा, तलव-भत्ता खुवाउनै रकम अभाव
काठमाडौं, २५ वैसाख । सरकारले चालु बजेटमा खर्च हुन नसकेको शीर्षकको रकम रकमान्तर गरी नेपाल एयर लाइन्सलाई तत्काल तीन अर्ब दिने भएको छ ।
अरबौ व्याजको भार मात्र बोकिरहेको नेपाल एयरलाइन्समा दैनिक तलब भत्ता वितरण गर्न पैसा अभाव भएपछि सरकारले तत्काल ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ । एयरबस ए ३३० जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नै २ अर्ब बढी रुपैयाँ बाँकी रहेको सरकारी स्वामित्वको एयरलाइन्सलाई तत्कालका लागि समस्या समाधान गर्न रकम उपलब्ध गराउन लागिएको हो ।
नेपाल एयरलाइन्सले सरकारसँग पुँजी लगानी स्वरुप २० अर्ब माग गरेको थियो । उसले तत्काल पाँच अर्ब र बाँकी १५ अर्ब विस्तारै लगानी गर्न सरकारसँग माग गरेको थियो । सो बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थको राय माग गरेको थियो ।
अर्थको रायअनुसार पर्यटनले तत्काल पाँच अर्ब दिन नसकिने र त्यो पनि ऋण स्वरुप मात्र दिनेगरी ३ अर्बसम्म दिन सकिने जानकारी गराएको स्रोतले जानकारी दिएको छ । ‘नेपाल एयरलाइन्सको सबै वित्तीय विरण र दायित्व हेर्दा अहिलेलाई ३ अर्ब नगद दिएमा समाधान हुनसक्ने भएको निष्कर्षमा मन्त्रालय पुगेको छ’ पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले भन्यो, ‘दैनिक तलब भत्तामै समस्या भएको कम्पनीलाई अरबौंको ऋणको किस्ता पनि तिर्नुपर्ने छ यतिले त पुग्दैन तर सरकारसँग पनि पैसा छैन ।’
नेपाल एयरलाइन्सले ल्याएका वाइडबडी जहाजको किस्ता तिर्नुपर्ने भए पनि ती जहाजले नियमित अधिकतम क्षमता सदुपयोग गर्ननसक्दा व्यापार हुनसकेको छैन । अरबौं ऋण भार भएका जहाजको व्यापार नहुँदा एयरलाइन्स स्वतः आर्थिक संकटमा पर्दै गएको छ ।
एक महिनामा मात्र १ अर्ब ५४ करोड रुपैयाँ खर्च आवश्यक पर्ने संस्थाको खातामा हाल २० करोड रुपैयाँ मात्र रहेको जनाइएको छ । गएको साता पर्यटन मन्त्रायमा भएको छलफलमा एयरलाइन्सको तर्फबाट प्रस्तुत आर्थिक विवरण हेरेपछि पैसा दिनैपर्ने निष्कर्षमा सरकार पुगेको हो ।
संस्थाले माघ र चैतको किस्ता तिर्न सकेको छैन । उसले वाइडबडी जहाज किन्न नागरिक लगानी कोष र संचय कोषसँग लिएको ऋणको प्रत्येक तीन महिनामा ८० करोड ४२ लाख रुपैयाँ तिर्नुपर्छ । यस हिसाबले चैतसम्म संस्थाको किस्तामात्र १ अर्ब ६० करोड रुपैयाँ बाँकी छ । असारसम्म २ अर्ब ४२ करोड रुपैयाँ किस्ता बाँकी हुनेछ । संस्थाले असारसम्म पनि तिर्नसक्ने अवस्था नरहेको अधिकारीहरुले बताउँदै आएका छन् ।
ब्यावसायिक योजनाअनुसार लामो गन्तव्यमा उडान नहुञ्जेल संस्थाले ऋण तिर्नसक्ने अवस्था नहुने बताउँदै आएको छ । असार १९ बाट जापान उडान शुरु गर्ने तयारीमा एयरलाइन्स रहेको छ ।
अहिले वाइडबडी जहाज छोटो दूरीमा उडिरहेका छन् । छोटो दूरीमा धेरै यात्रु बोक्दा पनि खर्च भन्दा आम्दानी न्यून देखिएको छ । आम्दानीको शतप्रतिशत वा त्यो भन्दा बढी खर्च हुने गरेको छ ।