अब जग्गा किनबेच गर्न लेखन्दास नचाहिने, आफैले भर्न सक्ने सजिलो फाराम आउँदै

काठमाडौं, ६ भदौं । मालपोत कार्यालयमा जग्गा किनबेच गर्दा सर्वसाधरणले अतिरिक्त पैसा मात्र बुझाउनु पर्दै लेखापढी व्यवसायी र कर्मचारीहरुबाट अनेक झण्झट व्यहोर्नु पर्छ ।

लेखापढी व्यवसायी र मालपोत कर्मचारीले तोकेर अतिरिक्त रकम असुल्ने गरे पनि सर्वसाधरण नागरिक वाध्य भएर उनीहरुलाई नै विचौलिया बनाउन वाध्य छन् । तर, अव मालपोतमा जग्गा किनबेचका लागि विचौलिया लगाउन नपर्ने भएको छ । मालपोतले प्रयोग गर्दै आएका फाराम अप्ठ्यारो भएकै कारण विचौलियाको सहयोग लिनुपर्ने सर्वसाधरणले अब आफै फाराम भर्न सक्छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिचौलिया निषेध गर्दै सर्वसाधरणले सजिलै फारम भरेर घरजग्गा पास गर्ने संयन्त्र तयार पारेको छ ।
विगतदेखि नै फारम भरेर जग्गा पास गर्ने व्यवस्था भए पनि झन्झटिलो भएर प्रयोग नै हुन सकेको थिएन । झझन्टिलो भएकै कारण मालपोत कार्यालयमा लेखापढी व्यवसायीलाई घरजग्गा पास गर्दा अतिरिक्त पैसा बुझाउनु पथ्र्यो । मन्त्रालयले फारमको नमूना परिवर्तन गरेर सामान्य लेख्न जान्ने व्यक्तिले भर्न सकिने बनाउन लागेको हो । मन्त्रालयका अनुसार सामान्य लेखपढ गरेका सर्वसाधारणले पनि आफैले भर्न मिल्ने गरी फारम बनाइने छ ।
अहिले प्रयोगमा आइरहेको फाराममा कुनै फम्र्याट नहुँदा लेखापढी व्यवसायीलाई गुहार्नै पर्ने अवस्था छ । तर अब आउने फाराममा भने सबै कुरा बुझ्ने भाषामा राखिएको र छोटो बनाइएको मन्त्री पद्मा अर्यालले बताइन् । पूरानो परम्परागत फारममा तमसुक शैलीमा विवरण भर्नुपर्छ । नयाँ फारमको नमूनामा तमसुक शैलीलाई हटाइएको छ । घर जग्गाको विवरण उल्लेख भएको हुनेछ ।
पहिलेको फारममा लामो नेपाली कागजमा लेख्नुपथ्र्यो । अहिलेको फारम भने चलन चल्तीमा रहेको प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने ‘ए फोर’ साइजको हुनेछ । यो फारमलाई कम्प्युटरमा भरेर सहजै प्रिन्ट गर्न सकिन्छ । नयाँ फाराम लागू भएपछि अब लेखापढीकहाँ धाइरहनु पर्दैन । कम्प्युटर हुनेले कम्प्युटरमा फाराम भर्न सक्छन् भने नहुनले फारामको नमुना किनेर हातैले पनि भर्न सक्छन् । तर यस भन्दाअघि फारमको नमूना किन्न पाइदैन्थ्यो । कम्प्युटरमा प्रिन्टको व्यवस्थै थिएन ।
अनलाइनमार्फत जग्गा किनबेच गर्न यो फारम अझ प्रभावकारी हुने जनाइएको छ । पहिलेको फारम अनलाइनमा राख्न सम्भव थिएन । अव भने कम्प्युटरबाट भरेको फारम प्रिन्ट गरेर हस्ताक्षर र औंठा छाप गरे पुग्छ । त्यसैलाई स्क्यान गरेर मालपोतमा इमेल गरेपछि अनलाइनमार्फत घरै बसेर पनि जग्गा किनबेच गर्न सकिन्छ । यसअघि लेखापढी व्यवसायीहरुले व्यक्ति र ठाउँ हेरेर एउटा फारम भरेको पाँच सय देखि १५ हजार रुपैयाँ सम्म लिने गरेका थिए ।