नेपाली सेनाको फोटो प्रतियोगिता आयोजना : मङ्सिर २२ सम्म तस्बिर पठाउन सकिने


२०८३ मङ्सिर ११ शुक्रबार १५:१० बजे

काठमाडौं : नेपाली सेनाले सैनिक गतिविधि र विभिन्न विषयवस्तु समेटिएका तस्बिरको प्रवर्द्धन तथा फोटो पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि आगामी २०८३ मङ्सिर २२ गतेसम्म तस्बिर पठाउन सकिनेछ।

प्रतियोगितामा १८ वर्ष उमेर पूरा गरेका व्यावसायिक तथा गैरव्यावसायिक फोटोग्राफर सहभागी हुन सक्नेछन् । तर प्रतियोगिता गैरसैनिक व्यक्तिका लागि मात्रै खुला गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगिताका लागि विपद् प्रतिकार्य, उद्धार तथा व्यवस्थापन, सैनिक तालिम, खेलकुद, नागरिक–सैनिक सहकार्य, समारोह तथा उत्सव गरी विभिन्न विधा तोकिएका छन् । यसैगरी राष्ट्र विकास, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य, प्रकृति तथा पर्यावरण संरक्षण र परम्परा एवं सांस्कृतिक गतिविधिसम्बन्धी तस्बिर पनि समावेश गर्न सकिनेछ ।

प्रतियोगीले प्रत्येक विधामा कम्तीमा तीनवटा र सबै विधा गरी बढीमा १८ वटा तस्बिर पठाउन सक्नेछन् । जुनसुकै प्रकारको क्यामेराबाट खिचिएका तस्बिर स्वीकार गरिने भए पनि ती नेपाली सेनाका गतिविधि वा प्रतियोगिताका लागि तोकिएका विषयवस्तुसँग सम्बन्धित हुनुपर्नेछ।

प्रतियोगितामा एक वर्षभन्दा पुराना तस्बिर स्वीकार गरिने छैनन् । २०८२ मङ्सिर २१ गतेभन्दा अगाडि खिचिएका तस्बिर अयोग्य हुनेछन् । सहभागीले आफैँले खिचेका, यसअघि व्यावसायिक प्रयोजनमा प्रयोग नभएका र सामाजिक सञ्जाल, वेबसाइट, पत्रपत्रिका, म्यागेजिनलगायत कुनै पनि सञ्चारमाध्यममा प्रकाशित नभएका मौलिक तस्बिर मात्रै पेस गर्नुपर्नेछ ।

तस्बिरमा रङको गाढापन, कन्ट्रास्ट, उज्यालोपन, स्पष्टता, रङको तापक्रम, सेतो सन्तुलन र काटछाँटजस्ता सामान्य प्राविधिक सम्पादन गर्न पाइनेछ । तर कम्प्युटर वा सफ्टवेयरबाट तस्बिरको वास्तविक स्वरूप परिवर्तन गरिएको, भिडियोबाट खिचिएको स्थिर तस्बिर वा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सिर्जना तथा परिवर्तन गरिएका तस्बिर स्वीकार गरिने छैनन् ।

प्रतियोगितामा पठाइने तस्बिर जेपीईजी/जेपीजी ढाँचामा हुनुपर्नेछ । तस्बिरको आकार ५४०० × ३६०० पिक्सेल, रिजोल्युसन कम्तीमा ३०० डीपीआई र फाइलको आकार कम्तीमा तीन एमबी हुनुपर्नेछ ।

प्रत्येक तस्बिरमा एक्सिफ मेटाडाटा अनिवार्य गरिएको छ । तस्बिरमा वाटरमार्क, लोगो, बोर्डर, अक्षर वा फोटोग्राफरको पहिचान खुल्ने कुनै चिह्न राख्न पाइने छैन ।

प्रतियोगीले तस्बिरसँगै त्यसको विषय, स्थान, समय, घटना, कारण र गतिविधिबारे संक्षिप्त विवरण खुलाउनुपर्नेछ । साथै फोटोग्राफरको नाम र तस्बिर खिचिएको मिति पनि उल्लेख गर्नुपर्नेछ ।

तस्बिर नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अपलोड गर्न सकिनेछ। त्यसैगरी जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरआई), भद्रकाली, काठमाडौंमा तस्बिरको डिजिटल प्रतिलिपि बुझाउन सकिने व्यवस्था गरिएको छ । तस्बिर बुझाएपछि सहभागीले इमेलमार्फत सहभागिताको पुष्टिकरण प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पेस गरिएका तस्बिरको प्रतिलिपि अधिकार नेपाली सेनालाई प्रदान गर्नुपर्नेछ। प्रतिलिपि अधिकार वा तेस्रो पक्षको अधिकारसम्बन्धी कुनै विवाद उत्पन्न भए त्यसको जिम्मेवारी सम्बन्धित फोटोग्राफर स्वयंले लिनुपर्नेछ।

कुनै व्यक्ति वा संस्थाको चरित्रहत्या गर्ने, सामाजिक, धार्मिक तथा लैङ्गिक हिंसा फैलाउने वा सामाजिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका तस्बिर प्रतियोगितामा समावेश गरिने छैनन्। प्रतियोगितासम्बन्धी कुनै विवाद उत्पन्न भएमा मूल्याङ्कन समितिको निर्णय अन्तिम हुने नेपाली सेनाले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७