भोटेकोशी करिडोरको सुरुङमा ३७ जनाको शव फेला परेको थियो : नेपाली सेना
काठमाडौं : भोटेकोशी करिडोरमा आएको बाढीपहिरोले प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धार गर्ने क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहे पनि उद्धार टोलीले ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको छ ।
नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उद्धार अभियानबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त भएपछि दुई जना इन्जिनियरसँग समन्वय गरेर खोज तथा उद्धारको योजना बनाइएको उनले बताए।
प्रारम्भिक निरीक्षणका क्रममा सुरुङभित्र पस्न सकिने दुईवटा स्थान मात्रै फेला परेका थिए । अन्य प्रवेश मार्ग बाढीपहिरोका कारण अवरुद्ध थिए ।
नेपाली सेना, चिनियाँ र कोरियन उद्धार टोलीले संयुक्त रूपमा अभियान सञ्चालन गरेका थिए ।
आयोजनाको पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जनामध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको थापाले जानकारी दिए ।
तर, सुरुङभित्र प्रवेश गरेर उद्धार गर्न सहज थिएन । अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको अभावले टोलीलाई कठिनाइ भएको थियो ।
कतिपय स्थानमा कम्प्रेसर मेसिन प्रयोग गरेर अवरोध हटाउँदै उद्धारकर्मी अघि बढेका थिए ।
सुरुङको माथिल्लो भागमा प्रोटेक्सन वर्कअन्तर्गत ढलान भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै निकालिएको थापाले बताए ।
अडिट–३ बाट अस्ट्रेलियाली उद्धार टोलीको ड्रोन प्रयोग गरी सुरुङभित्र करिब १ हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो ।
उक्त क्षेत्रमा सुरुङ पूर्ण रूपमा अवरुद्ध रहेको पाइएको थियो ।
खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू एकै ठाउँमा थुप्रिएको अवस्थामा भेटिएका थिए ।
यही क्षेत्रमा ३७ जनाको शव फेला परेको सेनाले जनाएको छ । सुरुङभित्रको अवस्था हेर्दा सुरुवाती झड्कामै ठूलो मानवीय क्षति भएको हुन सक्ने थापाको भनाइ छ ।
सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट अग्लो सुरुङभित्र १७ फिटसम्म पानी र लेदो जमेको थापाले बताए ।
हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटरसम्म पुगे पनि त्यसपछिको भागमा प्रवेश गर्न सक्ने अवस्था छैन ।
अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकास गर्न सकिने सम्भावनाबारे आयोजना र इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको उनले जानकारी दिए ।
उद्धार तथा खोजी कार्य अझै जारी रहेको र हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको पनि उनले बताए ।
.gif)

.png)



