अमेरिकाले नेपाली सेनालाई ८ हेलिकोप्टरसहित २२ अर्बका उपकरण दिने


२०८३ कार्तिक १२ बिहीबार २०:०६ बजे

काठमाडौं :  अमेरिकाले नेपाली सेनालाई १५ करोड अमेरिकी डलरभन्दा बढी अर्थात् करिब २२ अर्ब ८० करोड रुपैयाँ मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा अनुदानमा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा यसबारे जानकारी गराएकी हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार, उक्त सहयोग नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ गर्न लक्षित छ ।

अमेरिकाले नेपाललाई आठवटा बेल हेलिकोप्टर, उच्च क्षमताका ड्रोन र नदीमा सञ्चालन गर्न मिल्ने डुंगा उपलब्ध गराउनेछ । सन् २०२७ मा दुईवटा हेलिकोप्टर नेपाल आइपुग्नेछन् भने बाँकी छवटा सन् २०२९ सम्म उपलब्ध गराउने तयारी छ । अन्य सामग्री पनि आगामी वर्षदेखि प्राप्त हुन थाल्ने दूतावासले जनाएको छ ।

यसअघि अमेरिकाले गत शरद ऋतुमा ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम२८ स्काईट्रक विमान नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो । ती विमान विपद्का बेला राहत तथा उद्धार कार्यमा प्रयोग हुँदै आएका छन् ।

भेटमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्स्थापना, विपद् पूर्वतयारी र प्रतिकार्यमा अमेरिकी सहयोगबारे छलफल भएको थियो । कार्यवाहक राजदूत बोल्डिनले बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति सहानुभूति प्रकट गरेकी थिइन् ।

अमेरिकी दूतावासका अनुसार, अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञताले नेपाललाई खोज तथा उद्धार, घाइतेको हवाई उद्धार र आपत्कालीन प्रतिकार्य क्षमता विस्तारमा सहयोग पुर्‍याउँदै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७