नेपाली सेनाले यसरी मनायो कुकुर तिहार, तालिमप्राप्त कुकुरको विशेष प्रदर्शन
काठमाडौं : यमपञ्चकअन्तर्गत दोस्रो दिन आइतबार नेपाली सेनाले तालिमप्राप्त सैनिक कुकुरहरूको पूजाआजा गरी कुकुर तिहार मनाएको छ ।
भक्तपुरको मध्यपुर थिमिस्थित भैरवबहान गुल्ममा आयोजित विशेष समारोहमा सेनाका तालिमप्राप्त कुकुरहरूलाई टीका तथा माला लगाएर पूजा गरिएको हो । सो अवसरमा कुकुरहरूलाई मनपर्ने मिठा परिकारसमेत खुवाइएको थियो ।
कार्यक्रममा सैनिक कुकुरहरूको विशेष पूजा गर्नुका साथै उनीहरूको कार्यकौशल प्रदर्शन (डग सो) आयोजना गरिएको थियो । प्रदर्शनका क्रममा कुकुरहरूले अपराध अनुसन्धान, शंकास्पद वस्तुको पहिचान तथा खोज र उद्धारसम्बन्धी सीप प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाको प्रबन्धरथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बाबजुद सैनिक कुकुरहरूलाई विशेष तालिम दिएर सुरक्षा जिम्मेवारीमा परिचालन गर्ने काम प्रभावकारी रहेको बताए ।
उनले गस्ती, सुरक्षा, पदचिह्न पछ्याउने, शंकास्पद व्यक्तिको खोजी तथा विस्फोटक पदार्थ पहिचानलगायतका काममा सैनिक कुकुरहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
कुकुर पूजालाई निष्ठा, इमानदारी र बफादारीको प्रतीकका रूपमा सम्मान गर्नु मौलिक दायित्व भएको पनि उनले बताए ।
नेपाली सेनाको भैरवबहान गुल्मले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, प्राकृतिक विपत्तिका बेला खोज तथा उद्धार, हतियार तथा अपराधीको खोजी र विभिन्न सुरक्षा कार्यमा तालिमप्राप्त कुकुर परिचालन गर्दै आएको छ ।
.gif)

.png)




