त्रिभुवन विमानस्थल भन्सारको नेतृत्व सहसचिव पार्वती अर्याललाई


२०८३ मङ्सिर १० बिहीबार २०:०७ बजे

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पहिलोपटक महिला प्रमुख भन्सार प्रशासक पाएको छ । अर्थ मन्त्रालयले सहसचिव पार्वती अर्याललाई उक्त जिम्मेवारी दिएसँगै विमानस्थल भन्सारको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको हो ।

अर्थ मन्त्रालयको बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट अर्याललाई प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिइएको हो । उनी यसअघि चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा ‘मिनिस्टर (इकोनोमिक)’ का रूपमा कार्यरत थिइन् ।

परराष्ट्र मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत नेपाल प्रशासन सेवातर्फको सहसचिव दरबन्दी कटौती भएपछि अर्याल स्वदेश फर्किएकी थिइन् । गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई परराष्ट्र मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो ।

प्रशासनिक अनुभव र सुधारमुखी कार्यशैलीका लागि परिचित अर्यालले यसअघि नेतृत्व गरेका विभिन्न निकायमा संस्थागत सुधार, प्रशासनिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने पहल गरेकी थिइन् ।

वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख हुँदा उनले श्रम स्वीकृति प्रक्रियाको निगरानी, सूचना प्रणालीको परीक्षण तथा कार्यालयको कार्यप्रणाली सुधारमा जोड दिएकी थिइन् । व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग नियन्त्रण गर्न पनि उनले निगरानी बढाएकी थिइन् ।

राष्ट्रिय महिला आयोगको सचिवका रूपमा १५ महिना काम गर्दा उनले पदाधिकारी तथा कर्मचारीको आचारसंहिता कार्यान्वयन, निर्णय प्रक्रिया व्यवस्थित गर्ने र अध्ययन तथा अनुसन्धानलाई संस्थागत बनाउने अभ्यास अघि बढाएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा अनुसन्धान गर्ने पद्धति विकासमा समेत उनले पहल गरेकी थिइन् ।

भन्सार जाँचपासपछिको परीक्षण कार्यालयको नेतृत्व गरिसकेकी अर्यालसँग भन्सार प्रशासन, सार्वजनिक व्यवस्थापन, श्रम तथा आर्थिक कूटनीतिको अनुभव छ । उनले संयुक्त अरब इमिरेट्स (यूएई) मा श्रम सहचारीका रूपमा पनि काम गरेकी थिइन् ।

तत्कालीन प्रमुख भन्सार प्रशासक रामकृष्ण पुडासैनीलाई असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेपछि विमानस्थल भन्सार कार्यालय झन्डै दुई महिनादेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो ।

यसअघि विमानस्थल भन्सार कार्यालयको नेतृत्व रामकृष्ण पुडासैनी, विष्णुप्रसाद ज्ञवाली, टंकनाथ लम्साल, दिलीपकुमार गौतम, महेश बराल, डा. टोकराज पाण्डेय, अरुण पोखरेल, महेश भट्टराई, लक्ष्मीप्रसाद निरौला, विष्णुराज ढकाल र गजेन्द्रकुमार ठाकुरलगायतले सम्हालेका थिए ।

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, राजस्व सङ्कलन, राजस्व चुहावट नियन्त्रण तथा अवैध वस्तुको ओसारपसार रोकथामका दृष्टिले विमानस्थल भन्सार कार्यालय रणनीतिक महत्त्वको निकाय मानिन्छ ।

यस्तो संवेदनशील निकायको नेतृत्वमा पुगेकी अर्यालका लागि आफ्नो प्रशासनिक अनुभव र सुधारमुखी कार्यशैली कार्यान्वयन गर्ने अवसरसँगै नयाँ चुनौती पनि थपिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७