ठूला करदाताका प्रमुख कर प्रशासकले दिए राजीनामा, अर्थमा सहसचिवहरूको जिम्मेवारी परिवर्तन

ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ जिम्मेवारी


२०८३ असोज ५ सोमबार २१:१३ बजे
फाइल फोटो

काठमाडौं : ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालय र मातहतका निकायमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। शर्माको राजीनामासँगै अर्थ मन्त्रालयका चार सहसचिवको जिम्मेवारी परिवर्तन भएको हो।

मन्त्रालयका अनुसार सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। उनी यसअघि बजेट महाशाखामा कार्यरत थिए। यस्तै, हालै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ। 

प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ। यसैगरी, हालै कोशी प्रदेशबाट संघमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। यससँगै लोक सेवा आयोग, कोशीबाट हालै सरुवा भएका सहसचिव गोकुल बाँस्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ। उनी उपसचिव रहँदा लामो समय महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत थिए।

पछिल्लो समय निजामती सेवाका उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ। प्रस्तावित नयाँ निजामती सेवा व्यवस्थामा सेवा अवधि वा उमेरसम्बन्धी प्रावधान परिवर्तन हुनसक्ने चर्चाबीच केही कर्मचारीले सेवाबाट राजीनामा दिन थालेको बताइएको छ। असोज लागेयता मात्रै चार जना सहसचिवले राजीनामा दिएको दाबी गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार ऐन जारी हुँदाको समयमा ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरमध्ये जुन पहिले पुग्छ, त्यसैका आधारमा अवकाश हुने प्रावधान ल्याउने तयारी रहेको बताइएको छ। यही व्यवस्था कार्यान्वयन हुनसक्ने आकलनका बीच सेवा अवधि बाँकी रहेका केही उच्च तहका कर्मचारीले राजीनामा दिएको स्रोतको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७