काठमाडौं महानगरको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । तर, कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे भने खुलाएकी छैनन् ।
श्रेष्ठले वैशाख ४ गते रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनले फेसबुकमा आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उल्लेख गरेकी छन् ।
रास्वपाबाट समानुपातिक सांसद बनेकी श्रेष्ठ २०८० फागुन २३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएकी थिइन् ।
संसद्मा रहँदा उनले शैक्षिक क्यालेन्डर निर्माण र कार्यान्वयनका लागि पहल गरेकी थिइन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि सक्रिय थिइन् ।
काठमाडौं महानगरपालिका–२६ की स्थायी बासिन्दा श्रेष्ठले अमेरिकाको एमआईटी स्लोन स्कुल अफ म्यानेजमेन्टबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् ।
उनले ब्रिन मार कलेजबाट अर्थशास्त्र र ह्याभरफोर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।
.gif)

.png)




