एनपीएलको दोस्रो क्वालिफायर पुग्न चितवन र काठमाडौं भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को एलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
चितवनले टोलीमा दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलान टोलीमा आएका छन् । आजको खेलमा चितवनको कप्तानी बोपाराले गर्दैछन् ।
काठमाडौंले पनि दुई खेलाडी परिवर्तन गरेको छ । सुमित महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेटले मौका पाएका छन् । टोलीको कप्तानी करण केसीले नै गर्दैछन् ।
आजको खेलमा पराजित हुने टोलीको एनपीएल यात्रा समाप्त हुनेछ । विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । यी दुई टोलीबीच लिग चरणमा भएको भेटमा काठमाडौंले चितवनलाई १० रनले हराएको थियो ।
.gif)

.png)




