काठमाडौं महानगरले कात्तिक १३ देखि फिल्म महोत्सव गर्ने
काठमाडौं : काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म महोत्सव आयोजना गर्ने भएको छ।
पुराना पुस्ताका कलाकारलाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने र नेपाली चलचित्रको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाले महोत्सवमा भारतीय चलचित्र क्षेत्रकी दिग्गज अभिनेत्री शबाना आजमी तथा सांघाई फिल्म एकेडेमी र फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरलगायतको उपस्थिति रहने जानकारी दिएको छ।
महोत्सवमा नेपाली चलचित्रको इतिहास र मौलिकतालाई महत्त्व दिँदै सन् १९७० र १९८० को दशकका चर्चित चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष रूपमा प्रदर्शन गरिनेछ।
पुराना चलचित्रको संरक्षण गर्दै नयाँ पुस्तालाई नेपाली सिनेमाको इतिहाससँग परिचित गराउनु यसको उद्देश्य रहेको महानगरले जनाएको छ।
काठमाडौं फिल्म महोत्सवले स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विस्तार गर्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका व्यक्तित्वसँग अनुभव आदानप्रदान र सहकार्यको सम्भावना खोज्न पनि महोत्सव उपयोगी हुने महानगरको विश्वास छ।
महानगरपालिकाका अनुसार महोत्सवले पुराना पुस्ताको सिर्जनात्मक योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई चलचित्र कला, संस्कृति र प्राविधिक सीप हस्तान्तरण गर्ने वातावरण निर्माण गर्नेछ।
साथै, नेपाली चलचित्रको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
.gif)

.png)




