३७ सशस्त्र प्रहरी निरीक्षकका लागि ५६ हप्ते आधारभूत तालिम सुरु


२०८३ मङ्सिर २ बुधबार १६:२८ बजे

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपाल जागिर खाने ठाउँ मात्र नभई राष्ट्र र जनताको सेवा तथा सुरक्षामा समर्पित पवित्र संगठन भएको बताएका छन् ।

बुधबारदेखि पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालन हुने सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै उनले संगठनको गौरव र प्रतिष्ठा अग्रजहरूको योगदान, वर्तमान पुस्ताको कर्म र भावी पुस्ताको जिम्मेवारीसँग जोडिएको साझा धरोहर भएको बताए ।

उनले अनुशासन र आदेशको पालना फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै कानुनको शासन, मानवअधिकार, नैतिक आचरण र व्यावसायिक दक्षतालाई आत्मसात् गर्न प्रशिक्षार्थीलाई निर्देशन दिए ।

भू–राजनीतिक प्रतिस्पर्धा, सीमा तथा संगठित अपराध, मानव बेचबिखन, लागूऔषध कारोबार, वित्तीय अपराध, साइबर सुरक्षा चुनौती र प्राकृतिक विपद्जस्ता विषयले सुरक्षा व्यवस्थापन जटिल बन्दै गएको उनको भनाइ थियो ।

यस्ता चुनौती सामना गर्न प्रविधिमैत्री, दक्ष र परिणाममुखी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

५६ हप्ते तालिममा साधारण उपसमूहतर्फ ३५ र लेखा उपसमूहतर्फ दुई गरी ३७ जना प्रहरी निरीक्षक सहभागी छन् । सहभागीमध्ये चार जना महिला छन् ।

सोही अवसरमा महानिरीक्षक पौडेलले तालिम शिक्षालय परिसरमा वाटर रेस्क्यु तालिमका लागि निर्माण गरिएको स्विमिङ पुलको उद्घाटनसमेत गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७