पार्टीमा आर्थिक अनियमितता, यौनजन्य आरोप र गुटबन्दी मौलायो : एमाले महासचिवको प्रतिवेदन


२०८३ मङ्सिर २ बुधबार १७:०८ बजे
तस्बिरः दिनेश भण्डारी

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र आर्थिक अनियमितता, यौनजन्य गतिविधिसम्बन्धी आरोप, गुटबन्दी र नेतृत्वकेन्द्रित प्रवृत्ति मौलाएको स्वीकार गरेका छन् ।

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलामा प्रस्तुत ‘पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी प्रतिवेदनमा पोखरेलले एमालेको संकट चुनावी पराजयमा मात्र सीमित नरहेको उल्लेख गरेका हुन् ।  

प्रतिवेदनले पार्टीको आचरण, नेतृत्व प्रणाली र संगठन सञ्चालनमै गम्भीर समस्या रहेको औँल्याएको छ ।

प्रतिवेदनको ‘नैतिक र चारित्रिक सदाचार’ शीर्षकअन्तर्गत कतिपय नेता–कार्यकर्ताको आर्थिक जीवन भड्किलो बन्दै गएको तथा आर्थिक अपराध, अनियमितता र यौनजन्य गतिविधिसम्बन्धी आरोप उठ्दा संस्थागत छानबिन र तथ्यपूर्ण प्रतिवाद हुन नसकेको उल्लेख छ ।

आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानबिन र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने पोखरेलको प्रस्ताव छ । यस्ता विषयमा पार्टीको मौनता र ढिलाइले जनविश्वास कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ ।

आलोचना गर्ने वातावरण कमजोर

नेता पोखरेलले संगठन र विचारको काममा खटिनेभन्दा नेतृत्वको वरिपरि घुम्ने कार्यकर्ताले अवसर पाउने गरेको गुनासो पार्टीभित्रै रहेको बताएका छन् । जिम्मेवारी बाँडफाँट, पदोन्नति र उम्मेदवार छनोटमा पारदर्शी मापदण्ड लागू हुन नसकेको उनको स्वीकारोक्ति छ ।

खुला छलफल, स्वस्थ बहस र आत्मालोचनाको संस्कृति कमजोर भएको तथा सुझाव र आलोचनालाई व्यक्तिगत आक्षेपका रूपमा लिने प्रवृत्ति बढेको प्रतिवेदनमा उल्लेख छ ।महाधिवेशनमा प्रतिस्पर्धा स्वीकार गरे पनि परिणाम नमान्ने प्रवृत्तिले गुटबन्दी र अन्तर्विरोध बढाएको पनि औँल्याइएको छ ।

निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

नेता तथा जनप्रतिनिधिको सम्पत्ति स्वघोषणा प्रस्ताव

महासचिव पोखरेलले पार्टीका नेता तथा जनप्रतिनिधिको सम्पत्ति स्वघोषणा अनिवार्य गर्न प्रस्ताव गरेका छन् । 

जनप्रतिनिधिमूलक निकायमा निर्वाचित हुँदा र जिम्मेवारीबाट बाहिरिँदा आफ्नो आर्थिक अवस्था सार्वजनिक गर्नुपर्ने उनको प्रस्ताव छ ।

पार्टीका विभिन्न तहमा नियमित लेखापरीक्षणको व्यवस्था भए पनि कार्यान्वयन कमजोर रहेको प्रतिवेदनमा स्वीकार गरिएको छ । जिल्लाभन्दा तल्ला कमिटीमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने व्यवस्था प्रभावकारी हुन नसकेको पनि उल्लेख छ ।

पराजयपछि संगठनमा निष्क्रियता र पलायन

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमालेले भोगेको पराजयलाई पोखरेलले अप्रत्याशित र निराशाजनक भनेका छन् । त्यसपछि कार्यकर्तामा निष्क्रियता र पलायनको प्रवृत्ति बढेको प्रतिवेदनमा उल्लेख छ ।

‘मिसन पार्टी जागरण’ अभियान अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको, सदस्यता अभिलेख डिजिटल बनाउने योजना सफल नभएको र तल्ला कमिटीका बैठकमा गणपूरक संख्या पुर्‍याउनसमेत समस्या देखिएको प्रतिवेदनमा जनाइएको छ ।

युवासँग संवाद कमजोर

रोजगारी, उद्यम, गुणस्तरीय शिक्षा, वैदेशिक पलायन, मानसिक स्वास्थ्य र डिजिटल अवसरजस्ता विषयमा नयाँ पुस्तासँग पर्याप्त संवाद हुन नसकेको पोखरेलले स्वीकार गरेका छन् ।

कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, गिग अर्थतन्त्र र महिला सुरक्षाजस्ता समसामयिक मुद्दामा पार्टीको ध्यान पर्याप्त नपुगेको प्रतिवेदनमा उल्लेख छ । 

श्रमजीवी, किसान र आधारभूत समुदायबाट नेतृत्व टाढिँदै गएको तथा सम्भ्रान्त वर्गको प्रभाव बढेको आरोपलाई पनि गम्भीर रूपमा उठाइएको छ ।

निर्वाचन पराजयपछि नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पोखरेलको प्रतिवेदनले भने नेतृत्व परिवर्तनभन्दा संगठनात्मक शुद्धीकरण र पुनर्गठनमा जोड दिएको छ । 

नेतृत्व विकास र पुस्तान्तरणको व्यवस्थित प्रणाली स्थापित हुन नसकेको स्वीकार गर्दै उनले पार्टी सुधारका लागि १५ प्रमुख काम प्रस्ताव गरेका छन् । तीमध्ये ‘सत्य संवाद अभियान’, प्रभावकारी प्रतिपक्षी भूमिका, डिजिटल सञ्चार प्रणालीको सुदृढीकरण र संगठनलाई परिणाममुखी बनाउने कार्यक्रम छन् ।

हेर्नूहोस् प्रतिवेदनः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७