वराहक्षेत्रका मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी, कार्यकक्षमा तालाबन्दी


२०८३ कार्तिक १३ शुक्रबार ०८:५० बजे
फाइल फोटो

​​​​​​सुनसरी : दसैँ बिदापछि ढिलो गरी कार्यालयमा हाजिर भएको भन्दै सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको गाडी सुविधा खोसेका छन् ।

मेयर कार्कीले गिरीको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै हाजिरी पुस्तिकासमेत लुकाएको बताइएको छ ।

दसैँ बिदापछि गिरी बिहीबार मात्रै कार्यालय पुगेकी थिइन् । उनी कार्यालयमा हाजिर हुन आएपछि मेयर कार्कीले गाडी सुविधा हटाउनुका साथै कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

गिरीले गत चैतदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

उनी जिम्मेवारीमा आएपछि मेयर कार्कीले गर्ने खर्चमा रोक लगाउन थालेसँगै दुईबीच सम्बन्ध बिग्रिएको नगरपालिका स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतले जथाभाबी हुने भुक्तानीमा कडाइ गरेपछि मेयरले उनको काज फिर्ता गराउने प्रयास गरेको स्रोतले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गिरीको काज फिर्ता नभएपछि मेयर कार्कीले कार्यपालिकाबाटै निर्णय गराएका थिए ।

कार्कीका अनुसार २०८३ कात्तिक १० गते बसेको नगर कार्यपालिकाको ७२औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ ।

मेयर कार्कीले प्रमुख प्रशासकीय अधिकृतका रूपमा गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज र समन्वयमा कमजोरी देखिएको दाबी गरेका छन् ।

तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउने व्यवस्था छ ।

संघीय सरकारले खटाएको कर्मचारीलाई फिर्ता बोलाउने, सरुवा गर्ने वा काज फिर्ता गर्ने अधिकार पनि मन्त्रालय वा संघीय सरकारसँगै रहने कानुनी व्यवस्था छ ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले भने कार्यालयमा हाजिर हुन जाँदा अवरोध गरिएको बताएकी छन् ।

दसैँ बिदापछि कार्यालय फर्किँदा काज फिर्ता गर्ने निर्णय भएको भन्दै आफूलाई हाजिर गर्न रोक्न खोजिएको उनको भनाइ छ । यसबाहेक घटनाबारे थप जानकारी नभएको उनले बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७