प्रेमीसँग मिलेर श्रीमानको हत्या : भारत भाग्दै गरेकी श्रीमती पक्राउ


२०८३ कार्तिक २३ सोमबार १६:२४ बजे

विराटनगर : तिहार मनाउन घर फर्किएका मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकी श्रीमती र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

झेराहाटस्थित एक उद्योगमा मजदुरी गर्दै आएका बुधराम आइतबार तिहार मनाउन घर पुगेको प्रहरीले जनाएको छ । घरमै रहेका बेला उनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्याको आरोपमा बुधरामकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनिल मिश्र पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले दुवैलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीका अनुसार घर फर्किएपछि बुधराम, कमली र सुनिलले सँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछि बुधराम कोठामा सुत्न गए । उनी निदाएपछि कमली र सुनिलले योजनाअनुसार टाउकोमा फलामको रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

टाउकोमा गम्भीर चोट लागेका बुधरामको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनीहरूले कोठाको ढोका बाहिरबाट ताल्चा लगाएर घटनास्थल छाडेको प्रहरीको भनाइ छ ।

पछि १३ वर्षीया छोरीले ढोकाको चाबी खोलेर हेर्दा बुबालाई रक्ताम्य अवस्थामा देखेपछि घटना बाहिर आएको थियो । स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले घरनजिकै लुकेको अवस्थामा सुनिललाई पक्राउ गरेको थियो । घटनापछि फरार रहेकी कमलीलाई भने सोमबार बिहान घरबाट केही टाढाको धानबारीबाट नियन्त्रणमा लिइएको हो । 

झोला बोकेर भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कटवालले बताए । 

कटवालका अनुसार कमली र सुनिलबीच केही समयदेखि विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त सम्बन्धबारे बुधरामले थाहा पाएपछि त्यसलाई लुकाउन दुवै मिलेर हत्या योजना बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७