रैथाने उत्पादनको प्रचार सरकारले गर्नुपर्छ : सभामुख


२०८३ कार्तिक २३ सोमबार १५:३७ बजे

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले देशका प्रमुख सहरमा नियमित रूपमा मेला तथा प्रदर्शनी आयोजना गर्नुपर्ने बताएका छन् ।

थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजित तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ता मेला काठमाडौं उपत्यकामा मात्रै सीमित गर्न नहुने बताए । ठूला बजार भएका देशका विभिन्न सहरमा सरकारले नै नियमित रूपमा मेला आयोजना गर्नुपर्ने उनको भनाइ थियो ।

रैथाने मेलाले दुर्गम क्षेत्रका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउने अवसर दिने उनले बताए । चाडपर्वमा मात्रै नभई शनिबार, आइतबार र अन्य सार्वजनिक बिदाका दिनमा समेत मेला सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

काठमाडौं उपत्यकाका उपभोक्ताले आसपासका जिल्लाका उत्पादनसँग परिचित भए पनि देशका दूरदराज क्षेत्रमा उत्पादित वस्तुका बारेमा जानकारी पाउने अवसर कम रहेको अर्यालले बताए । 

यस्ता मेलाबाट उपभोक्ताले नयाँ उत्पादनबारे जानकारी पाउनुका साथै किसानका उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो ।

‘रैथाने मेलाहरूलाई सरकारले नै निरन्तर रूपमा गर्नुपर्छ । जनताका उत्पादनहरूलाई देशभर देखाउन सकियो भने कहाँबाट कस्ता चिज आउँदा रहेछन् भन्ने पनि थाहा हुन्छ,’ उनले भने ।

किसान उत्पादनमै व्यस्त हुने भएकाले उनीहरूका उत्पादनको प्रचारप्रसारमा सरकारी निकाय र सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने अर्यालले बताए । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत संस्थाले किसानका उत्पादनलाई बजारसम्म पुर्‍याउन र प्रवर्द्धन गर्न भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

‘कहिलेकाहीँ व्यापार राम्रो हुन सक्छ, कहिलेकाहीँ कम हुन सक्छ । कहिले धेरै स्टल आउन सक्छन्, कहिले थोरै । तर सरकारले यस्ता अवसर र ठाउँ उपलब्ध गराउनुपर्छ,’ उनले भने ।

रैथाने उत्पादनको बजार विस्तारका लागि काठमाडौंमा मात्रै नभई ठूला बजार भएका अन्य सहरमा पनि सरकारी पहल आवश्यक रहेको उनले बताए ।

तिहार विशेष रैथाने मेलामा करिब २६ वटा स्टल राखिएका छन् । मेलाको अवलोकनका क्रममा सभामुख अर्यालले व्यक्तिगत रूपमा करिब सात हजार रुपैयाँ बराबरका सामान खरिद गरेको जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७