चार हारपछि पोखराको पुनरागमन, कर्णालीमाथि ६३ रनको जित


२०८३ कार्तिक २३ सोमबार १६:४८ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : लगातार चार खेलमा पराजित हुँदै दबाबमा परेको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । 

युवराज सिंह सम्राको शतकप्रेरित पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै अंकको खाता खोलेको हो । पोखराले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै समेटियो । यस जितसँगै पोखराले पाँच खेलबाट दुई अंक जोडेको छ ।

सुरुका दुई खेल जितेर प्रतियोगितामा राम्रो सुरुवात गरेको कर्णालीको भने यो लगातार तेस्रो हार हो । पाँच खेलबाट चार अंकसहित छैटौँ स्थानमा रहेको कर्णालीको प्लेअफ यात्रा पनि प्रभावित भएको छ । अब उसले साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ ।

कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । उनले ३० बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर अरिफुल इस्लामले १३ बलमा दुई चौका र दुई छक्कासहित २४ रन जोडे । दीपक डुम्रेले सात बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २२ रन बनाए ।

कर्णालीका कप्तान सोमपाल कामीले २१ रन बनाए । उनी १५औँ ओभरको अन्तिम बलमा एउटै बललाई दुई पटक प्रहार गरेपछि अवरोध पुर्‍याएको आरोपमा आउट भए । सूर्य तामाङले १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिशान आलम शून्य, मार्क वाट आठ, डेभिड मिलर सात, गुल्सन झा दुई र नन्दन यादव तीन रनमा आउट भए । युवराज खत्री एक रनमा अविजित रहे ।

पोखराका लागि धनञ्जय लक्षणले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए । कुशल भुर्तेलले दुई तथा विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो । यो जारी सिजनको अहिलेसम्मकै उच्च योगफल हो ।

एनपीएल इतिहासमा भने यो दोस्रो ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

पोखराका ओपनर सम्राले ४८ बलमा १० चौका र छक्का प्रहार गर्दै १०२ रन बनाए । उनले ४५ बलमै शतक पूरा गरेका थिए ।

एनपीएलको यस सिजन शतक बनाउने उनी पहिलो खेलाडी हुन् । क्यानडाका ओपनर सम्राले प्रतियोगितामा आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन् ।

कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन बनाए । सम्रा र भुर्तेलले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरे । यस सिजन कुनै पनि विकेटका लागि भएको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।

सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । हसन १६ बलमा पाँच रन बनाएर आउट भएका थिए ।

एनपीएलमा शतक प्रहार गर्ने सम्रा पोखराका तेस्रो खेलाडी र समग्रमा चौथो खेलाडी बनेका छन् । यसअघि पोखराका आन्द्रे गौसले पहिलो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध तथा एडम रोसिङ्टनले दोस्रो संस्करणमा कर्णाली याक्सविरुद्ध शतक बनाएका थिए ।

सम्रा र भुर्तेल आउट भएपछि कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै पोखरालाई २०० रन पार गराए ।

उनले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित २५ रन बनाए । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक तीन रनमा अविजित रहे ।

कर्णालीका कप्तान सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । मार्क वाटले एक विकेट हात पारे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७