कुलमानले माग गरे गैरदलीय स्थानीय चुनाव र विदेशबाटै मतदान
काठमाडौं : उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन प्रणाली लागू गर्न र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा बुधबार गएको टोलीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको हो।
ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउनुपर्ने उल्लेख छ।
स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जबाफदेहितालाई प्राथमिकता दिनुपर्ने अध्यक्ष घिसिङले बताए।
पार्टीले दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने जनाएको छ।
त्यस्तै, वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत प्रयोजनले विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि पार्टीले माग गरेको छ।
.gif)

.png)



