विद्युत् खपत बढाउनुपर्ने बेला जनतालाई कर थप्नु गलत : कुलमान घिसिङ
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले विद्युत् खपत निरुत्साहित गर्नुका साथै महँगी बढाउने बताएका छन्। मंगलबार काठमाडौंमा विद्युत्मा लगाइएको भ्याट हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल असुल गर्न जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले उल्टै करको भार थपेको बताए।
उनले ग्यास, पेट्रोल र डिजेलको प्रयोग घटाएर विद्युत्को खपत बढाउनुपर्नेमा विद्युत्मै कर लगाउने, विद्युतीय सवारी महँगो बनाउने र चार्जिङ स्टेसनमा भ्याट लगाउने नीति गलत भएको बताए। घिसिङले विद्युत्को मूल्य बढ्दा उद्योगको उत्पादन लागत बढ्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने बताए। ‘विद्युत् महँगो हुँदा चामल, डन्डी, सिमेन्टदेखि तेलसम्मको भाउ बढ्छ,’ उनले भने।
उनले पेट्रोलियम पदार्थको आयात घटाएर विद्युत्को खपत बढाउनुपर्नेमा जोड दिए। नेपालले पेट्रोल, डिजेल र ग्यास आयातमा ठूलो रकम खर्च गरिरहेको भन्दै यसको आयात घटाउन सके मुलुकको विदेशी मुद्रा बचत हुने उनको भनाइ थियो। घिसिङले खेर गइरहेको विद्युत् स्वदेशमै खपत बढाउने र बाँकी निर्यात गर्ने नीति लिन सरकारलाई आग्रह गरे। निजी क्षेत्रको लगानी बढाउन वातावरण बनाउनुपर्ने भन्दै उनले विद्युत्, उद्योग, सिँचाइ र खानेपानीको लागत घटाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताए।
.gif)

.png)

