विद्युतमा लगाइएको कर खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान
काठमाडौं : उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउनुपर्ने र सरकारले विद्युतमा लगाएको कर खारेज गर्नुपर्ने मागसहित पार्टीले माइतीघरबाट हस्ताक्षर अभियान सुरु गरेको हो।
अभियानको सुरुवात गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् र इन्डक्सनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै कर लगाएर निरुत्साहित गरेको आरोप लगाए। उनले विद्युत्मा लगाइएको कर तत्काल खारेज गर्न माग गरे।
इन्डक्सन र विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेसन सञ्चालन हुँदा ट्रान्सफर्मर तथा विद्युत् लाइनमा समस्या आउँछ भनेर प्रधानमन्त्रीबाटै भ्रम फैलाउने काम भएको भन्दै घिसिङले आपत्ति जनाए।
उनले नेपालमा विद्युतीय सवारीको प्रयोग व्यापक विस्तार गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा सरकारले ७० देखि ८० प्रतिशतसम्म भन्सार तथा कर बढाएर पेट्रोल, डिजेल र ग्यासको आयातलाई नै प्रोत्साहन गर्ने गलत नीति लिएको टिप्पणी गरे।
राइड सेयरिङमा संलग्न तथा मासिक २०–३० हजार रुपैयाँ आम्दानी गर्ने सामान्य श्रमिकमाथिसमेत करको भार थोपर्ने सरकारी नीतिको उनले विरोध गरे। हस्ताक्षर अभियानको शुभारम्भ कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत, सञ्चारकर्मी ऋषि धमलालगायतको उपस्थिति थियो।
.gif)

.png)

