कांग्रेसको १५औँ महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे
काठमाडौं : नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५औँ महाधिवेशनलाई अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन्।
महाधिवेशनअन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले यसपटक नीति, सिद्धान्त र भावी कार्यदिशामाथि छलफल भएकाले महाधिवेशन नौलो भएको बताए।
‘विगतका बन्द सत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको उनको दाबी थियो।
आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको पनि बताए। विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवादेखि सबै उमेर समूहका मानिस पार्टीमा जोडिएको उनको भनाइ थियो।
मुलुकको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले बहुमतको नाममा ‘अल्गोरिदम’बाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको आरोप लगाए।
उनले महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले कांग्रेसलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए।
.gif)

.png)


