सूर्यगढी गाउँपालिकाको बजेट विवाद : अध्यक्ष र लेखा अधिकृत आमनेसामने
समस्या समाधान गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई
काठमाडौं : नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानीको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र लेखा शाखाबीच विवाद चर्किएको छ।
बजेट विवरण तथा खाता सञ्चालनको अख्तियारी नपाएको लेखा अधिकृतको दाबी छ भने अध्यक्षले लेखा शाखाले विभिन्न भुक्तानी रोकेको आरोप लगाएका छन्।
लेखा अधिकृत सम्पदा न्यौपानेले गत असोज १३ गते प्रमुख प्रशासकीय अधिकृत राहुलकुमार उपाध्यायलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८३/०८४ को शीर्षकगत बजेट विवरण उपलब्ध नगराइएको बताएकी थिइन्।
बजेट र खाता सञ्चालनको अख्तियारी नहुँदा विकास निर्माणका कामसँगै कर्मचारीको तलब तथा सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रभावित भएको उनको दाबी छ।
उनले असोज १५ गतेसम्म बजेट विवरण उपलब्ध नगराए त्यसपछि हुने असर र भुक्तानीको जिम्मेवारी लेखा शाखाले नलिने चेतावनीसमेत दिएकी थिइन्।
अख्तियारी नपाएपछि आफू कार्यालयमा हाजिर गर्ने काममा मात्र सीमित भएको न्यौपानेले बताइन्।
यता गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले भने लेखा अधिकृतकै कारण गाउँपालिकाको काम प्रभावित भएको आरोप लगाए।
कार्यपालिकाले निर्णय गरी प्रमुख प्रशासकीय अधिकृतले तोक लगाएका क्यान्सर तथा मेरुदण्ड भाँचिएका बिरामीको आर्थिक सहायता र गत वर्षका २०–२५ वटा भुक्तानीसमेत रोकिएको उनले बताए।
अध्यक्षले लेखा अधिकृतले कार्यपालिकाको निर्णय र प्रणालीमा रकमको व्यवस्था नगरी स्कुटर खरिद गरेको आरोपसमेत लगाए।
न्यौपानेले भने अध्यक्षका सबै आरोप अस्वीकार गर्दै गत आर्थिक वर्षको असार अन्तिममा आएका केही फाइल सिस्टम सुस्त भएको र खाता बन्द हुने समय परेकाले भुक्तानी हुन नसकेको स्पष्ट पारेकी छन्।
ती दायित्व चालु आर्थिक वर्षमा सरेको र भुक्तानी हुने उनको भनाइ छ।
विवाद समाधानको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई दिइएको छ। लेखा अधिकृतको सरुवा वा व्यवस्थापनका लागि प्रदेश सरकारमार्फत पहल भइरहेको अध्यक्ष घलेले बताएका छन्।

.gif)

.png)


