नक्सा संशोधन गर्न नापी सर्भेक्षकले लिए एक लाख घुस : अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं : नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय बर्दिबासका सर्वेक्षक शिवकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गाको अंशबन्डाअनुसार नक्साको ट्रायल चेक गरी संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई दुःख–हैरानी दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सो काम गरिदिएबापत साहले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको सूचनाका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट साहले एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर कायम गरी एक लाख रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना तथा कैद सजाय मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

.gif)

.png)


