पहिलो–दोस्रोलाई छाडेर कसरी बढुवा छनौटमा परे तेस्रो नम्बरका मैनाली
काठमाडौं : सरकारले प्राविधिकतर्फ सचिव बढुवाका लागि सिफारिस भएका तीन सहसचिवमध्ये तेस्रो नम्बरमा रहेका पद्यकुमार मैनालीलाई सचिवमा बढुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवासँगै उनलाई पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ।
सचिव बढुवा सिफारिस समितिले नवीनराज सिंहलाई पहिलो, मिना श्रेष्ठलाई दोस्रो र मैनालीलाई तेस्रो नम्बरमा राखेर मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। तर मन्त्रिपरिषद्ले पहिलो र दोस्रो नम्बरका उम्मेदवारलाई छाडेर मैनालीलाई सचिवमा बढुवा गरेको हो।
कानुनअनुसार सिफारिस भएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ। यद्यपि पछिल्लो समय वरिष्ठताक्रमअनुसार बढुवा हुँदै आएको अवस्थामा तेस्रो नम्बरका उम्मेदवारको छनोटलाई प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ।
यसअघि मुख्यसचिव र प्रधानन्यायाधीश नियुक्तिमा पनि वरिष्ठताभन्दा फरक निर्णय भएका विषय चर्चामा आएका थिए। मुख्यसचिवमा गोविन्दबहादुर कार्की र प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिका क्रममा वरीयताको विषय उठेको थियो।
मैनाली नेपाल इन्जिनियरिङ सेवा, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सहसचिव हुन्। उनी सहरी विकास मन्त्रालय तथा सहरी विकास तथा भवन निर्माण विभागमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
उनी सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकसमेत भइसकेका छन्। पूर्वाधार विकास मन्त्रालयका तत्कालीन सचिव गोपालप्रसाद सिग्देलको अवकाशपछि मैनालीले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसैबीच प्राविधिक सचिव सरजुकुमार वैद्यसमेत अनिवार्य अवकाशमा गएपछि प्राविधिकतर्फ अर्को सचिव पद रिक्त भएको छ। उक्त पदपूर्तिका लागि अब पुनः तीन सहसचिवको नाम सिफारिस हुनेछ।
यो पनि हेर्नूहोस्ः
.gif)

.png)


