सचिव बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग मन्त्रालयको जिम्मेवारी


२०८३ असोज ६ मंगलबार ०७:५४ बजे

काठमाडौं : सचिवमा बढुवा भएका रुद्रसिंह तामाङको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापना भएको छ। तामाङले सोमबारदेखि मन्त्रालयमा कार्यभार सम्हालेका छन्।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट तामाङ सचिवमा बढुवा भएका थिए। सचिवमा बढुवा भएसँगै उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गरिएको हो। नुवाकोटको पञ्चकन्या गाउँपालिका स्थायी घर भएका तामाङले निजामती सेवामा अधिकृत, उपसचिव र सहसचिव तहमा प्रतिस्पर्धाबाट नियुक्त हुँदै प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएका छन्।

उनले स्थानीय तहदेखि संघीय सरकारका विभिन्न निकायमा काम गरेको अनुभव छ। धादिङ र नुवाकोटमा स्थानीय विकास अधिकारी (एलडीओ) का रूपमा काम गरेका तामाङले स्थानीय शासन तथा विकास प्रशासनमा समेत लामो समय बिताएका छन्। 

२०७२ सालको भूकम्पपछि उनी काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत बनेका थिए। जनप्रतिनिधि नभएको अवस्थामा महानगरको नेतृत्व सम्हाल्दै उनले भूकम्पपछिको राहत, पुनर्निर्माण तथा शहरी व्यवस्थापनसँग सम्बन्धित काममा जिम्मेवारी निर्वाह गरेका थिए। तामाङले पर्यटन मन्त्रालय तथा पर्यटन विभागको महानिर्देशकका रूपमा समेत काम गरेका छन्। त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहँदा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशकका रूपमा प्रदेश तथा स्थानीय सरकारको क्षमता विकाससम्बन्धी काममा नेतृत्व गरेका थिए। 

यसअघि उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए। पछिल्लो समय उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत थिए। जनप्रशासनमा स्नातकोत्तर गरेका तामाङ त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि अध्ययनरत छन्।

यसैबीच, अध्यागमन विभागमा रहँदा सुधारका काम अघि बढाउने क्रममा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान तथा अभियोगमा परेका थिए। उक्त मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७