ओलीको निर्देशन : सडक र सदनबाट संघर्षको तयारी गर्नुस्
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सडक र सदनबाट शान्तिपूर्ण संघर्षको तयारी गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई विषयगत तयारीसहित संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न र आन्दोलनको तयारीमा जुट्न निर्देशन दिए।
संख्यात्मक रूपमा एमाले सानो प्रतिपक्ष भएपनि लोकतन्त्र र संविधान निर्माणमा पार्टीले खेलेको ऐतिहासिक भूमिकाका कारण तिनको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीले बताए।
अध्यक्ष ओलीले हरेक सांसदलाई विषयवस्तुको गहन अध्ययन गर्न, विज्ञसँग छलफल गर्न र जनताका मुद्दा सशक्त रूपमा उठाउन निर्देशन दिएको प्रमुख सचेतक ऐन महरले जानकारी दिए।
संसद्मा एमालेको उपस्थिति गुणात्मक र प्रभावकारी बनाउनुपर्नेमा समेत उनले जोड दिएका थिए।
बैठकले सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवाल सम्बोधन गर्न चुकेको निष्कर्ष निकालेको महरले बताए।
बैठकले सरकार निरन्तर ‘फासीवादी, स्वेच्छाचारी एवं तानाशाही’ बाटोतर्फ अघि बढिरहेको निष्कर्षसमेत निकालेको छ।
सांसद महरले सरकारले संसद्लाई सत्ताको छायामा पारेको र जनमतको उपेक्षा गरेको आरोप लगाए। संसद्लाई ‘कठपुतली’ बनाउन खोजिएको उनको दाबी थियो।
.gif)

.png)


