वर्षा र पहिरोले देशका विभिन्न सडकखण्डमा यातायात ठप्प
काठमाडौं : पछिल्लो समय आएको बाढी, पहिरो र अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्।
रसुवा, मनाङ, म्याग्दी, हुम्ला र ललितपुरका सडकखण्डमा यातायात प्रभावित भएको नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको थियो।
त्यसपछि भदौ १० गते आएको विनाशकारी बाढीले सडकको अधिकांश भाग नै नष्ट गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, त्रिशूली बजार र बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग पनि बाढीका कारण त्रिशूली नदी किनारका अधिकांश भाग कटान भएपछि पूर्ण रूपमा अवरुद्ध छ।
स्याफ्रुबेंसीसम्म पुग्न भने टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्ने सिंगल लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
मनाङमा रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसारसम्म जाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक असोज ९ गते बिहानदेखि अवरुद्ध भएको हो।
यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट लेदोमाटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो असोज १० गते बिहान खसेको प्रहरीले जनाएको छ।
अविरल वर्षापछि हुम्लाका विभिन्न स्थानमा पहिरो जाँदा कर्णाली करिडोर र सिमकोट–हिल्सा सडकखण्डसमेत अवरुद्ध भएको छ।
यस्तै कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–१ मुसेडी, वडा नं. ५ बिसौनेडाँडा, श्यामने खोला तथा सर्केगाड गाउँपालिका–६ स्यालतडीमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।
सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ तथा सिमकोट गाउँपालिका–७ ठाडोढुंगा र यालबाङ क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथमा पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
असोज १५ गते दिउँसो पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

.gif)

.png)


